१७ आश्विन २०७४, मंगलवार
फाइल तस्विर

काठमाडौँ । एमालेले चुनावी सहकार्य र पार्टी एकताका लागि आव्हान गरेपछि बसेको माओवादी सचिवालयको बैठकले एमालेसँग सहकार्य र एकता गर्ने निर्णय लिएपछि दुवै दलका उच्चस्तरीय कार्यदलहरु वार्तामा व्यस्त भएका छन् ।

दुवै दलबीच आगामी चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने मोटामोटी सहमति भइसकेकाले त्यस विषयमा निर्वाचन आयोगसँग समेत परामर्श लिने तयारी भएको स्रोतले वताएको छ । एमाले र माओवादी बीच अन्य बाम दललाई पनि सहकार्यमा ल्याउने विषयमा समझदारी भएको छ ।

राष्ट्रिय स्वाधीनता, नेपालको सार्वभौमिकताको रक्षा, नेपाली आत्मनिर्भरताको खोजी मार्फत नेपालको विकास सञ्चालन गर्नुपर्छ भन्ने बामपन्थि मान्यता अनुरुप यी दुई दलबीच एकता हुन् लागेको  हो ।

उच्चस्तरीय नेताहरुबीच मंगलवार सहमति भएपछि दुवै दलका तर्फबाट एकता संयोजन समिति गठन हुनेछ । प्रदेश र प्रतिनिधिसभाको चुनावमा बहुमत हासिल गरी स्थिर सरकार चलाउने र मुलुकमा आर्थिक समृद्धिको नयाँ अध्याय आरम्भ गर्ने उद्धेश्यले बृहत बाम एकता गर्न लागिएको वार्तामा सहभागि नेताहरुले वताएका छन् ।

देउवा र दाहालबीच वार्ता

एमालेसँग चुनावी तालमेलको तयारी गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा करिव एक घण्टा देउवा र दाहालबीच वार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

बालुवाटारमा भएको छलफलमा अध्यक्ष दाहालले नेकपा एमालेसँग पार्टी एकीकरण एवं संघ र प्रदेशको चुनावमा हुन लागेको तालमेलका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए । भेटमा कांग्रेस नेता रामचन्द्र पौडेलसमेत सहभागी थिए । नेताहरुबीच संविधान संशोधन, आसन्न चुनाव र संसदमा पेश भएको विधेयकबारे पनि छलफल भएको थियो ।

पार्टी सचिवालयको बैठक सकिएलगत्तै दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । सचिवालय बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका सम्बन्धमा भइरहेको छलफलबारे सदस्यहरुलाई जानकारी गराएका थिए । अधिकांश सचिवालय सदस्य एमालेसँगको तालमेलका पक्षमा रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।

चुनावी तालमेल मात्र !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । मंगलबार विहान प्रचण्ड निवास लाजिम्पाटमा भएको एक घण्टाको भेटवार्तामा चुनावी तालमेल र गठबन्धन बनाउनेबारे छलफल भएको थियो ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने नयाँ सरकारमा फोरम नेपालको सहभागिता हुनेबारे प्रचण्ड र यादवबिच सहमति भएको स्रोतको दाबी छ ।  नेताहरुबीच तत्काल पार्टी एकता गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष यादवले बताए ।

एकताको विषयमा यादवले प्रस्ताव गरे पनि प्रचण्डले भने अहिले चुनावी तालमेल भन्ने जवाफ दिएका छन् । यादवले प्रचण्डसँगको भेटमा कांग्रेससँग चुनावी तालमेल नगर्ने आफुहरुको घोषित नीति नै रहेको जानकारी गराएका थिए ।

LIVE TV