१३ आश्विन २०७४, शुक्रबार

सुवास गौतम

बाग्लुङ ।  बाग्लुङमा ३४ वर्ष अघि स्थापना भएको नेपालको एक मात्र शिकार आरक्ष, ढोरपाटन शिकार आरक्षमा यस वर्षको पहिलो शिकार याम अन्तर्गत असोज र मंसिर महिनामा १० नाउर र ६ झारलको शिकार हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शिकारको लागि नाउर र झारलको यस बर्षका पहिलो यामको कोटा निर्धारण गरेको हो ।

विभागले प्रतिष्पर्धाका आधारमा छानिएका संस्थालाई शिकार अनुमति दिने गरेको छ । शिकार गर्नको लागि विश्वको धनाढ्य मानिसहरुको ध्यान पुग्ने गरेको पाइएको छ । छनोटमा पर्ने एजेन्सीले विदेशी शिकारीलाई असोज दोस्रो सातादेखि शिकार खेलाउने प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । वर्षेनी शिकार बापत तिनुपर्ने राजश्व घटबढ भइरहने उल्लेख गर्दै उहाँले शिकार खेलाउने एजेन्सीहरुवीच जति प्रतिस्पर्धा चल्यो, त्यही आधारमा मुल्यको दर बढ्ने बताउनु भयो ।

आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र बागलुङ, रुकुम र म्याग्दी गरी तीन जिल्लामा फैलिएको छ, जसको क्षेत्रफल एक हजार तीन सय २५ वर्ग किलोमिटर भित्र पर्दछ । शिकार आरक्षमा एक वर्ष अगाडिबाट सेनाको व्यारेक समेत राखिएको छ जसकारण अबैध रुपमा हुने चोरी शिकारी ठूलो परिणाममा घटेको शिकार आरक्षणका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालको भनाई छ ।

शिकार आरक्ष समुन्द्री सतहवाट नौ हजार तीन सय ५० फिट देखि १८ हजार फिट उचाईमा अवस्थित छ । अघिल्लो शिकार याम फागुन र वैशाखमा शिकार गर्न लगाउने संस्थाले हालसम्मकै उच्च एउटा झारल शिकारको १३ लाख पाँच हजार र नाउर शिकार बापत आठ लाख ७५ हजार तिरेको थियो । साढे दुई वर्षअघि पनि झारल शिकारको दर बढेर ९ लाख ३१ हजारसम्म पुगेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले तोक्ने कोटा र मागबीचको अन्तरले पनि दर घटबढ हुने गरेको छ ।

अमेरिका, जर्मनी, स्पेन, नर्वे, क्यानडा, दक्षिण अमेरिका लगायतका मुलुकबाट शिकारी ढोरपाटन पुग्ने गरेका छन् । सबैजसो शिकारी हेलिकप्टर मार्फत् नै ढोरपाटन पुग्ने गरेको आरक्षले जनाएको छ । आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ‘ब्लग’ गरी ६ ब्लगमा शिकार खेल्ने गरिएको छ । शिकारबाट आरक्ष कार्यालयले वर्षेनी करिब एक करोड राजश्व उठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV