१३ आश्विन २०७४, शुक्रबार

—सन्तोष शर्मा

बनियानी, झापा (रासस) ।दशैँको पूर्वसन्ध्यामा झापाको सीमावर्ती भारतीय बजारमा किनमेलका लागि नेपाली उपभोक्ताको भीड लागेको छ ।

यहाँका बजारभन्दा खाद्यान्न, लत्ताकपडा केही सस्तो हुने भएपछि ती बजारमा नेपाली उपभोक्ताको भीड लागेको हो ।

दैनिक उपभोग्य वस्तु चिनी, दाल, चामल, तेल, लत्ताकपडालगायत खरिदका लागि भारतको पानीट्याङ्की, नक्सलबाडी, सिलिगुडी, गलगलिया, बतासीलगायतका बजारमा अहिले नेपाली उपभोक्ताको भीड लाग्ने गरेको छ ।

“चाडपर्वका बेला किनमेलका लागि प्रायःजसो गलगलिया जाने गरेकी छु”, भद्रपुर–५ की पूजा शर्माले भन्नुभयो, “त्यता सामान किन्दा अलि सस्तो पर्ने गरेको छ ।” दुई÷चार रुपैयाँ सस्तो हुने भएपछि आफू भारतीय बजारमा किनमेलका लागि जाने गरेको उहाँले सुनाउनुभयो ।

नेपाली बजारमा चिनीको मूल्य पसलअनुसार रु ८० देखि ९० सम्म पर्ने गरेको छ भने भारतीय बजारमा भारतीय रुपैयाँ ४० देखि ४३ (नेरु ६२ देखि ६८) पर्ने गरेको छ ।

“यहाँ रु १७० प्रतिकेजी पर्ने दाल त्यहाँ भारु ७० मा पाइन्छ”, बिर्तामोड–६ की मीना बस्नेतले भन्नुभयो, “सामानको दाम दुई÷चार रुपैयाँ कम हुने भएकाले किनमेलका लागि भारतीय बजार जाने गरेकी हुँ ।”

नेपाली बजारमा सामानको मनपरी मूल्य र बजार अनुगमन नहुँदा नेपाली उपभोक्ता भारतीय बजार जान बाध्य भएको उहाँको भनाइ छ । “बजार अनुगमन हुँदैन”, उहाँले भन्नुभयो, “दाम पनि पसलैपिच्छे फरक–फरक हुन्छ, पसल सञ्चालकले अनुहार हेरेर सामानको मूल्य लिन्छन् ।”

भारतीय सीमावर्ती बजार नेपाली उपभोक्ताका कारण दिनदिनै बढ्दै गएका छन् भने नेपाली बजार सुक्दै गएका छन् । भद्रपुरको नजिकको भारतीय बजार गलगलिया दिनदिनै फस्टाउँदै गएको छ ।

“भारतीय सीमावर्ती बजारको ग्राहक भनेकै नेपाली उपभोक्ता हुन्”, भद्रपुर–८ निवासी नेपाली काँग्रेस जिल्ला सदस्य तोया गड्तौलाले भन्नुभयो, “सस्तो हुने भएपछि यहाँका उपभोक्ता उतै जान्छन्, सामानको गुणस्तरबारे खासै चासो हुँदैन ।”

खाद्यवस्तुमा मिसावट बढ्दै गएकाले उपभोग्य वस्तु खरिद गर्दा सर्वसाधारणले गुणस्तरमा पनि ध्यान दिनुपर्ने उहाँको सुझाव छ । “नेपाली रुपैयाँ भारतीय बजार जाने गरेकाले त्यसका लागि सरोकारवाला र व्यापारीले प्रभावकारी कदम चाल्नुपर्छ”, उहाँले भन्नुभयो ।

कुनै पनि वस्तु बिक्री गर्दा लागत मूल्यभन्दा २० प्रतिशतसम्म मुनाफा लिन पाइँदैन । त्योभन्दा बढी भएमा कालोबजारी गरेको ठहर्छ । तर, बजार अनुगमन नहुँदा अत्यधिक मुनाफा राखेर व्यापारीले मालसामान बिक्री गर्ने गरेको भद्रपुर–७ की लक्ष्मी ढकालले गुनासो गर्नुभयो ।

“न बजार अनुगमन हुन्छ, न त कुनै पसलमा सामानको मूल्यसूची नै छ”, उहाँले भन्नुभयो, “खानेकुराको दाम नै थाहा हुँदैन, जति भन्यो त्यति तिर्न बाध्य छौँ ।”

त्यस्तै, सीमावर्ती क्षेत्रमा खुलेका मनी चेञ्जरले महँगो दरमा भारतीय रुपैयाँ सटही गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकको मुद्रा विनिमय दर भारु एक सयको १६० रुपैयाँ १५ पैसा भए पनि यहाँ रु १६५ मा कारोबार हुँदै आएको छ । सरोकारवाला निकायले नियमन र अनुगमन गर्न नसक्दा नेपाली उपभोक्ता दोहोरो मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV