१३ आश्विन २०७४, शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको शान्तिप्रक्रिया विश्वका लागि उदाहरण भएको सन्देश आफूले दिएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिएर स्वदेश फर्किनुभएका प्रधानमन्त्री देउवाले नेपालले पाएका राजनीतिक उपलब्धि विश्वसामु उल्लेख गरिएको बताउनुभयो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग नयाँ संविधान, हालै सम्पन्न स्थानीय तहको निर्वाचन लगायतका विषयमा विश्व सामू जानकारी गराइएको बताउनुभयो । उहाँले नेपाल राष्ट्रसंघका उद्देश्यहरु परिपूर्तिमा प्रतिबद्ध रहेको उल्लेख गर्दै विश्व शान्ति र आतंकवाद नियन्त्रण गर्न ऐक्यबद्ध भएको आफूले बताएको जानकारी दिनुभयो ।

यसैगरी उहाँले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहँदा सार्क राष्ट्र र विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा समकक्षीसँग गरेको भेटवार्ता उपलब्धिमूलक रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले नेपाल सार्कको अध्यक्ष मुलुकसमेत रहेको नाताले १९ औँ सार्क शिखर सम्मेलन गराउने विषयमा त्यहाँ उपलब्ध सार्क मुलुकका परराष्ट्र मन्त्रीहरुको अनौपचारिक बैठक समेत भएको जानकारी दिनुभयो ।

राष्ट्र संघको शान्ति स्थापनाको लक्ष्यमा शान्ति सेनाको भूमिका थप प्रभावकारी बनाउन तथा काभ्रेको पाँचखालस्थित सैनिक तालीम केन्द्रलाई क्षमता वृद्धि गर्न छलफल भएको उहाँले जानकारी दिनुभयो । त्यहाँबाट फर्किदा ओमानको राजकीय भ्रमण समेत गर्नुभएका प्रधानमन्त्री देउवाले त्यहाँस्थित नेपाली श्रमिकको शोषण अन्त्य गर्न विशेष पहल गर्ने आश्वासन दिनुभयो । प्रधानमन्त्री महासभामा भागलिनका लागि असोज ३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV