१२ आश्विन २०७४, बिहीबार

काठमाडौं । दशैंमा सडक सुनसान र रित्तो हुँदा सवारी साधनहरु समेत तीव्र गतिमा गुडाउने र चाडपर्व भएको भन्दै मादक पदार्थ सेवन गरेर सवारी चलाउने क्रम रोकिएको छैन । यी दुवै गतिविधि गर्नेहरुमाथि ट्राफिक प्रहरीले कडा निगरानी गर्दै आएको छ । सवारी दुर्घटना नहोस् भन्दै ट्राफिक प्रहरीले दशैंको तीन दिन सम्म विशेष सुरक्षा चेक जाँच गरिरहेको छ ।

दिवा र रात्रि समयमा चेकजाँचमा कडाई गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । के तपाई मादक पदार्थ सेवन गरेर सवारी चलाउँदै हुनुहुन्छ ? यदि चलाउँदै हुनुहुन्छ भने होशियार । मापसेविरुद्ध ट्राफिक प्रहरीले चलाउँदै आएको कदम चाडवाडको समयमा झनै कडा तुल्याउँदै आएको छ । मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवारीसाधन कुदाउनेहरुलाई ट्राफिक प्रहरीले ५ हजार सम्म जरिवाना गर्ने गरेको छ ।

दशैंको समयमा मादक पदार्थ सेवन गर्नेहरुको संख्यामा बृद्धि भएको प्रहरीको तथ्यांक छ । अझ दिउँसो भन्दा पनि रातिको समयमा सबैभन्दा बढी दुर्घटनाहरु हुने गरेको भन्दै ट्राफिक प्रहरीले रात्रिकालीन समयमा थप सुरक्षा व्यवस्थामा कडाई र चेकजाँच पोष्टहरु बृद्धि गरेको छ । चाडपर्वको समयमा सबैभन्दा बढी भिडभाड हुने पर्यटकीय क्षेत्र दरवारमार्ग, ठमेलमा बढी चाप हुने गरेको भन्दै त्यस क्षेत्रमा सबै भन्दा बढी ट्राफिक प्रहरी चेकपोष्ट राखिएको दरवारमार्गका प्रहरी निरीक्षक सुनिल जंग शाहले जानकारी दिनुभयो ।

सुनिलजंग शाह, प्रहरी निरीक्षक, दरवारमार्ग ट्राफिक प्रहरीका अनुसार दरवारमार्ग, ठमेल, सिंहदरवारको पश्चिम गेट सवारी साधन दुर्घटना हुने प्रमुख ठाउँ भएकाले त्यस क्षेत्रतर्फ मादक पदार्थ सेवनको चेक जाँचमा बृद्धि गरिएको छ । मदिरा पिएर सवारी साधन गुँडाउनु महाभूल हो नै , त्यसैले दशैंलाई रमाइलो बनाउन यस्ता भूल र गल्तीबाट टाढै बस्नु उचित हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV