२५ भाद्र २०७४, आईतवार

दीपक भट्ट

रामेछाप । अब विद्यार्थीसंग कापी कलम मात्र होइन एक विरुवा पनि हुने छ । रामेछापको मन्थली माध्यमिक विद्यालयमा सुरु गरिएको एक विद्याथी एक विरुवा अभियान वास्तवमा स्वागतयोग्य पक्ष बनेको छ ।

विद्यालय वरपरको वातावरण उजाड बन्दा वास्तवमा विद्यार्थीको मन पढाईमा जाँदैन र वैराग्य वन्छन् । तर विद्यालय वरपर हरियाली वातावरण बने उनीहरुमा पढने जाँगरमात्र नभई हेरक गतिविधिका लागि उर्जामय वातावरण पनि बन्छ नै । वातावरणको यही शक्तिलाई ध्यानमा राखेर विद्यार्थी विरुवा लाउँदै गोडमेलमा व्यस्त बनेका छन् ।

रामेछापकै नमुना मानिएको मन्थली माविले विद्यालयको ४२ रोपनी क्षेत्रफल भित्र विभिन्न प्रजातिका १ हजार ६ सय विरुवाहरु वृक्षरोपण गरि ती विरुवाहरु हुर्काउने जिम्मा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका वालवालिकालाई दिएको छ ।

विद्यालयले एक विद्यार्थी एक विरुवाको अभियान नै चलाएको छ । विद्यालयको हाताभित्र केरा, आँप, लिची, च्यूँरी, हर्राे, वर्रो, अमला र ग्लोमोर लगायतका विभिन्न प्रजातिका विरुवाहरु लगाइएको छ । विद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई विषय ज्ञानको अलावा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्धेश्यले विद्यालयले खाली समयको सदुपयोग गर्दै वालवालिकाहरुलाई रोपिएको वृक्षलाई मलजल गर्ने जिम्मेवारी प्रदान गरेको हो ।

रोपिएका विरुवाहरुमा विद्यार्थीहरुले दैनिक विहान विद्यालय पुगेपछि र वेलुका विद्यालय छुट्टी भएपछि दुई पटक नियमित रुपमा पानी हाल्ने र त्यस्को अवस्था विचरण गर्ने गर्दछ ।

बृक्षरोपण गर्नु भन्दा पहिले विरुवा हुर्काउन सकिन्छ की सकिदैन भन्ने चिन्ताले सताएको भएता पनि पछि विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गरेपछि अहिले सहज भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यार्थीहरुले विरुवालाई हुर्काउन सकेमा विद्यालयमा पढ्ने र पढाउने सबैले पुर्नताजगीको महशुस गर्ने अपेक्षा गरिएको शिक्षकहरुको भनाई छ । वास्तवमा मन्थली माविको यो अभियान अनुकरणीय छ ।

नेपालका अधिकांश सरकारी विद्यालयहरु भौतिक सम्पतिको हिसाबमा कम छैनन् । त्यसैले प्रशस्त जग्गा जमिन भएका अन्य विद्यालयहरुले पनि यो अभ्यास गरे वास्तवमा हरियाली नेपाल बनाउने धेरेथोर मद्दत पुग्ने नै छ ।

LIVE TV