१३ श्रावण २०७४, शुक्रबार
  • राजु पौडेल

झापा । जिल्ला शिक्षा कार्यालयहरुबाट आधारभूत तहको सम्बन्धन लिएर सञ्चालित मदरसाहरुबाट पढाई पूरा गरेका विद्यार्थीलाई माथिल्लो कक्षा अध्ययन गर्ने मदरसा नहुँदा समस्या हुने गरेको पाइएको छ ।

धार्मिक पाठशालालाई आधारभूत तहभन्दा माथिको कक्षा सञ्चालन गर्ने अनुमति नहुँदा मुस्लिम समुदायका विद्यार्थीहरु माथिल्लो तहको पठनपाठनबाट बञ्चित हुने गरेका छन् । एक रिपोर्ट हाल सञ्चालित मदरसाबाट आधारभुत तह उत्तीर्ण विद्यार्थीले पढ्न चाहे अन्य विद्यालयमा पनि भर्नाका लागि स्वीकृति त पाउँछन् तर, ती विद्यालयमा पढाई हुने विषयवस्तु र पाठ्यक्रम नौलो भएका कारण उनीहरुको पढाई बोझिलो बन्ने गरेको छ । जिल्ला शिक्षा कार्यालय झापाले मुस्लिम धार्मिक पाठशालासहित विभिन्न धर्म सम्प्रदायका कक्षा ५ सम्म पठनपाठन भइरहेका विद्यालयहरुलाई सञ्चालन अनुमति दिएको छ ।

मदरसा पढिरहेका विद्यार्थीलाई प्राथमिक तह अध्ययन गरिसकेपछि माथिल्लो तह पढाउन कतिपय अभिभावकहरु समेत हिचकिचाउने गरेको बताउनुहुन्छ मुस्लिम समाज झापाका अध्यक्ष समेत रहनुभएका मेची अञ्जुमन इस्लामिया मदरसाका अध्यक्ष अमिन अली शेख ।.

झापामा हाल सञ्चालित ५३ वटा मुस्लिम धार्मिक पाठशालाहरुमा मुस्लिम समुदायका झण्डै ७ हजार विद्यार्थी अध्ययनरत् छन् । झापाका ती विद्यालयहरुमध्ये ५० वटा मात्र स्वीकृति प्राप्त छन् । त्यसबाहेक जिल्लामा ३ वटा निमावि स्तरका मदरसा अनुमति बिना नै सञ्चालनमा रहेका छन् । विद्यार्थीहरु आफ्ना धर्म, संस्कार, संस्कृति अनुकुलका विद्यालयमा मात्र पढ्न जाने गरेकै कारण राज्यले निर्दिष्ट गरेका पाठ्यक्रमतर्फ उनीहरुलाई आकर्षित गर्न प्राथमिक तहका लागि मात्रै धार्मिक विद्यालयको अनुमति दिइने गरेको झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले बताउनुभयो ।

व्यवस्थापन समितिका अनुसार मदरसा सञ्चालनका लागि आवश्यक बजेट प्राप्त नहुँदा कतिपय मदरसा बन्द हुने अवस्थामा पुगेका छन् । जिल्ला शिक्षा कार्यालयले सीमित बजेटको व्यवस्था गर्दा धेरैजसो मदरसाहरुले स्थानीय दाताबाट मदरसाको पढाई सञ्चालन गरिरहेका छन् । मदरसामा पढाई हुने उर्दु, अरबिक, फारसी लगायत विषय पढाउने शिक्षक भारतबाट ल्याउनुपर्ने बाध्यता रहेका कारण पनि मदरसाहरु बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।

 

LIVE TV