११ श्रावण २०७४, बुधबार

भक्तपुर । मध्यपुर थिमिनगरपालिका–८ बोडेस्थित ऐतिहासिक पोखरीको रुपमा रहेको अतिक्रमित कमलपोखरी फिर्ता गर्न नगरबासीले माग गरेका छन् । बुधबार स्थानीयवासीले नगर प्रमुख, उपप्रमुख सबै वडाका वडाध्यक्षलाई सार्वजनिक रुपमा रहेको जग्गा व्यक्तिको नाममा राखेको भन्दै व्यक्तिको नामबाट हटाउन माग गरेका हुन् ।

तत्कालीन बोडे गाउँपञ्चायत वडा नं ६ कित्ता नं १ को १५ रोपनी ९ आना क्षेत्रफल भएको सार्वजनिक पोखरी २०४२ सालमा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको भन्दै थिमी, बोडे, नगदेशका बासिन्दाले व्यक्तिको नाममा गएको त्यो पोखरी सार्वजनिकरुप मै फर्काइनु पर्ने माग राखेको हो । धार्मिक तथा साँस्कृतिक महत्व रहेको कमलपोखरीमा फूलेको फूलले स्थानीय लायकु दरबारमा तलेजुलाई चढाउने र साउनमा हुने नीलबाराही नाँचमा पोखरीमा फुलेको कमलको फूल चढाउने परम्परा सयौं वर्षदेखि रहेको स्थानीयको भनाई छ । नगर प्रमुख मदनकृष्ण श्रेष्ठले भू माफियाले सार्वजनिक पोखरीलाइ व्यक्तिको नाममा नामसारी गरेको भन्दै फिर्ता गर्न पहल गर्ने बताउनुभयो ।

२०४२ सालअसार ३१ गते कमलपोखरी कान्छी पोडेनीको नाममादर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ्ग घरभई काठमाडांै ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्गको नाममा पास भएको अधिवक्ता गजेन्द्र तिमिलाले बताउनुभयो ।

जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणीको नाममा, १ रोपनी कर्सी जद्योना गुरुङ्गको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको छ । तर स्थानीय बासिन्दाले कमलपोखरी बिक्री वितरण रोकेर सार्वजनिक नै गरिनु पर्ने माग दाबीगर्दै भएको मुद्धाको बुधबार फैसला हुने चर्चा चलेपछि दिनभर स्थानीयले अदालत परिसरमा भेला भएर जग्गा फिर्ताको माग गर्दै धर्नामा बसेका थिए ।

LIVE TV