११ श्रावण २०७४, बुधबार
  • बसन्त लिम्बू

ताप्लेजुङ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिका बिषयमा विद्यालय स्तरबाट नै ज्ञान दिने उद्धेश्यले रेडपाण्डा नेटवर्कले पूर्वका तीन जिल्लामा वातावरण संरक्षण शिक्षाको पाठ्यपुस्तक प्रयोगमा ल्याएको छ । कक्षा ६ र ७ मा पढाइ हुने तय भएको पाठ्यपुस्तक बुधवार पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

रेडपाण्डा नेटवर्कका संरक्षण संयोजक पेमा शेर्पाले यो शैक्षिक बर्षमा ताप्लेजुङ, पाँचथर र इलामका तीनवटा विद्यालयमा वातावरण संरक्षण शिक्षाको स्थानीय पाठ्य सामाग्री पढाइने छ । उहाँका अनुसार पुस्तकमा कक्षा ६ का लागि ५ र कक्षा ७ का लागि थप ५ इकाइ पाठ्य सामग्री समेटिएका छन् ।

चालु शैक्षिक बर्षमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर १० फुरुम्बुको मयाम माध्यमिक बिद्यालय,पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ६ छिरुवाको आधारभूत मावि र इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ५ को राष्ट्रिय आधारभूत विद्यालयमा यो पाठ्य सामग्रीमा बिषय बस्तुलाई कक्षा बिषयबस्तु बनाइने छ । पहिलो बर्ष कक्षा ६ का लागि मात्र पढाउने व्यवस्था गरिने रेडपाण्डा नेवर्टकका संरक्षण संयोजक शेर्पाले बताउनु भयो । अर्को बर्षबाट कक्षा ६ र ७ मा एकै पटक पाठ्य सामग्रीलाइ प्रयोगमा ल्याइने छ ।

नेटवर्कका संरक्षण संयोजक शेर्पाले पाठ्य सामग्री तयार तथा प्रयोगमा ल्याउनु पूर्व रेडपाण्डा नेटवर्कले तीन जिल्लाका जिल्ला शिक्षा कार्यालय तथा चालु बर्षबाट शैक्षिक सामग्रीको प्रयोग हुन लागेका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुको समेत पूर्व स्वीकृती लिएको जानकारी पनि दिनुभयो ।

रेडपाण्डा नेटवर्कले मंगलवार र बुधवार दुइ दिनका लागि पाँचथर, इलाम र ताप्लेजुङका संरक्षणका क्षेत्रमा कलम चलाउने पत्रकारका लागि आयोजना गरेको जैविक विविधता संरक्षणमा सञ्चारकर्मीहरुका भूमिका बिषयक दुइदिने तालिमको समापनकै अवसरमा वातावरण संरक्षण शिक्षा पुस्तक बिमोचन कार्यक्रमको आयोजना गरेको हो ।

 

LIVE TV