११ श्रावण २०७४, बुधबार

काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले संविधान कार्यान्वयन गर्ने तथा विधिको शासनको रक्षा गर्ने महत्वपूर्ण कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सिंहदरबारस्थित कानून मन्त्रालयमा आज साँझ पदबहाली गर्दै उहाँले तीनै तहको निर्वाचन समयमै पूरा गर्न आफू प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनका लागि कानून निर्माण गर्ने महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउँदा आफू ज्यादै खुशी भएको उल्लेख गर्नुभयो ।

मन्त्री थापाले पदबहाली गर्दै १३ जना निर्वाचन अधिकृतलाई प्रदेश नं २ को निर्वाचनमा खटाउने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।

नवनियुक्त मन्त्री थापा नेपाली काँग्रेस कास्कीको दुई कार्यकाल पूर्वसभापति, त्यसअघि कास्की जिविसको उपसभापति, पहिलोपटक कास्की क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँले आफ्नो राजनीतिक जीवन नेपाल विद्यार्थी सङ्घबाट शुरु गर्नुभएको थियो ।

LIVE TV