११ श्रावण २०७४, बुधबार

चितवन । भारतीय गुप्तचर संस्था ’र’ को प्रतिनिधि भन्दै उद्योगी व्यवसायीहरुसँग ठूलो धनराशी माग गर्ने गिरोहका मुख्य अभियुक्त सहित चार जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । उनीहरुले जिल्लाको एक उद्योगका मालिकलाई ज्यान लिनेसम्मको धम्की दिई ५० लाख रुपैयाँ रकम माग गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ । उनीहरुले माग अनुसारको रकम नदिए अपहरण गर्ने, मार्नेसम्मको धम्की दिदै आएका थिए । पक्राउ पर्नेमा मुख्य अभियुक्त धादिङ ज्वालामुखी गाउँपालिका २ बस्ने ईश्वरी बस्नेत, सोही ठाउँका रोशन बस्नेत, मनोज श्रेष्ठ र ज्वालामुखी गाउँपालिका १ का रामकृष्ण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो । उनीहरुलाई गत सोमबार काठमाण्डौंको नयाँ बसपार्क स्थित सिस्नेरी गेष्ट हाउस मित्रनगरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी प्रमुख थापाले उनीहरुले गत साउन ६ गतेबाट तीन वटा सिम प्रयोग गरी उद्योगी व्यवसायीलाई फोन तथा एसएमएस मार्फत् श्रीमती छोराछोरीलाई समेत अपहरण गर्ने, मार्ने धम्की दिंदै आएको बताउनुभयो ।

मुख्य अभियुक्त ईश्वर बस्नेत २०६८ सालमा सशस्त्र प्रहरी बलको सानो गौचरण काठमाण्डौंमा प्रहरी जवान पदमा भर्ना भई करिब चार वर्षपछि २०६८ सालमा भगौडा भई जागिर छोडेका व्यक्ति हुन् । उनले स्थानीय स्तरमा ठेक्कापट्टाको काम गर्दै आएका थिए । मनोज श्रेष्ठ ग्लोबल कलेज काठमाण्डौंमा बिबिए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् भने मनोज श्रेष्ठ पब्लिक युथ कलेज काठमाडौंमा बिबिए प्रथम वर्ष पढी एक वर्षदेखि कलेज छाडेका छन् । रोशन बस्नेत भने साउदी अरेबियाबाट गत असार अन्तिममा नेपाल आएका थिए ।

चितवनका एक उद्योगीलाई फोन तथा एसएमएसमार्फत् धम्की दिएको जानकारी आफूले पाएपछि आफू मातहतका प्रहरीलाई समेत जानकारी नदिई आफूले अनुसन्धान गरेर उनीहरुलाई पक्राउ गर्न सफल भएको एसपी थापाले जानकारी दिनुभयो ।

LIVE TV