११ श्रावण २०७४, बुधबार

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको डेढ महिनापछि आज मन्त्रिमण्डल बिस्तार गर्दै हुनुहुन्छ । नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका देउवाले जेठ २४ गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

राष्ट्रपति कार्यलयले हिजो नयाँ मन्त्रीलाई सपथ खुवाउन कार्यक्रम तय गरेपनि प्रधानमन्त्री देउवाले छनौट गर्न नसकेपछि अन्तिम समयमा रोकिएको थियो । आफु नेतृत्वमा सरकार गठन भएको डेढ महिना भईसक्दा समेत सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले सत्तासहयात्री माओवादी केन्द्र र केहि साना दल समेटेर आज मन्त्रीमण्डल विस्तार गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । नयाँ मन्त्रीलाई राष्ट्रपतिबाट आजै सपथ खुवाउने तयारी भएपनि समय तय गरिएको छैन ।

कंग्रेसबाट ९, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ तथा नेकपा संयुक्तबाट एक गरी १८ जना मन्त्रीले आज सपथ लिनेछन् । देउवाले आफ्नो पार्टी नेपाली कंग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ४, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र नेता खुमवहादुर खड्का पक्षबाट एक एक जना गरि भागवण्डाका आधारमा मन्त्री बनाउने तयारी गर्नुभएको छ । पौडेल पक्षले रामकृष्ण यादव, संजय गौतम, राजन केसी र यज्ञवहादुर थापाको नाम दिएको छ ।

सिटौला पक्षबाट भिमसेन दास प्रधान र खड्का पक्षबाट मोहन बहादुर बस्नेत मन्त्री बन्ने बताइएको छ । देउवा पक्षबाट भरत साह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदेम्बे, अर्जुन जोशी लगायतको नाम चर्चामा छ । सत्ता सहयात्री माओवादी केन्द्रले भने पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाईसकेको छ । पार्टीबाट गिरिराजमणी पोखरेल, महेन्द्र बहादुर शाही, टेकबहादुर बस्नेत, लगायत मन्त्री बन्ने भएका छन् ।

यस्तै फोरम लोकतान्त्रिकले जितेन्द्रनारायण देवलाई सरकारमा पठाउने तयारी गरेको छ । यस्तै नेकपा संयुक्तले सांसद मिथिला चौधरीलाई पार्टीका तर्फबाट सरकारमा पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र नेपाल लोकतान्त्रिक फोरमबाट एकजना गरी आठ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।

 

LIVE TV