१० श्रावण २०७४, मंगलवार

काठमाण्डौ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायालयको सुधार कहाँबाट सुरु गर्ने भन्ने चिन्तन गर्न सबै न्यायकर्मीहरुलाई व्यक्तिगत र सामूहिक रुपमा प्रयास गर्न आह्वान गर्नुभएको छ । उहाँँले न्याय सम्पादनको कामलाई चुस्तदुरुस्त बनाउन योजनाहरुका बारेमा छलफल गरेर न्यायलयमाथि जनमानसमा देखिएको आक्रोशलाई कम गर्न सबै न्यायकर्मीहरु अघि बढ्नुपर्ने बताउनुभयो ।

मंगलवार सर्वोच्च अदालत र उच्च अदालतको वार्षिक समीक्षा कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले न्यायक्षेत्रमा थुप्रै समस्याहरु ब्याप्त रहेको उल्लेख गर्दै सबै न्यायकर्मीहरु एक भएर समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले अदालतमा जनताले पाउने सास्ती र मुद्धाको विषयमा खेपिरहेको समस्यालाई सबै न्यायकर्मीहरु मिलेर अदालतमाथि लागेको दाग हटाउन प्रयत्नशील हुनुपर्ने बताउनुभयो ।

मंगलवारदेखि सुरु भएको सम्मेलनमा सहभागी अधिकांश न्यायाधीशहरुले भूकम्पपछि क्षतिग्रस्त भएका आफ्ना कार्यालयहरुको व्यवस्थापनको कामलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । भूकम्पपछि क्षतिग्रस्त सर्वोच्च अदालतको भवन पुनर्निर्माणको कामले समेत गति लिन नसकेकोमा न्यायाधीशहरुस्वयंले चिन्ता व्यक्त गर्दै आएका छन् ।

LIVE TV