१० श्रावण २०७४, मंगलवार

काठमाडौं । कीर्तिमानी आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको शव ४० दिनपछि नेपाल आइपुगेको छ । गत असार २ गते अमेरिकाको हिमाल आरोहणका क्रममा हाइअल्टिच्युडका कारण अल्ट्रा धावक सञ्जय पण्डितको निधन भएको थियो ।

श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर राष्ट्रिय खेलकुद परिषदमा राखिएको छ । कीर्तिमानी आरोही तथा अल्ट्रा धावक पण्डितलाई श्रद्धाञ्जलि दिन विभिन्न क्षेत्रका महानुभावहरु ठुलो संख्यामा राखेप परिसर पुगेका छन् । खेलाडी, प्रशिक्षकलगायत खेल क्षेत्रका व्यक्तित्वदेखि राजनीतिज्ञसम्म उनलाई श्रद्धाञ्जलि दिन पुगेका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री जनार्दन शर्मा, नेता गगन थापा देखि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले पण्डितको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरे ।

पण्डितको अन्त्येष्टि भने गृहजिल्ला प्यूठानमै गरिने पारिवारिक श्रोतले जनाएको छ । उनको शव हेलिकोप्टरमार्फत आजै प्यूठान लगिने तथा प्यूठानको टिकुरी बसपार्क परिसरमा अन्तिम श्रद्धाञ्जलि पश्चात उनको अन्तिम संस्कार गरिने बताईएको छ । २९ वर्षे पण्डितको अमेरिकाको आलस्कामा रहेको ६ हजार १९० मिटर उचाइको माउण्ट डेनाली आरोहणका क्रममा हाइ अल्टिच्युडका कारण मृत्यु भएको थियो ।

उनले सगरमाथा लगायत विश्वका सबै महादेशका उच्च शिखर आरोहण गरिसकेका थिए । २०१४ मा युरोपको उच्च शिखर एलब्रुसको सफल आरोहण गरी माइनस ६० डिग्रीको चिसोमा ६ मिनेट ३ सेकेण्डसम्म नांगिएर समेत उनले विश्व कीर्तिमान कायम गरेका थिए ।

 

LIVE TV