९ श्रावण २०७४, सोमबार

काठमाडौं । काठमाडौंको प्रमुख सडक नाका हो नागढुंगा । काठमाडौं प्रवेशद्वारका रुपमा लिइने कंलकी–नागढुंगा सडक–खण्डको दुरावस्थाको बयानै गर्न सकिदैन । प्रवेशद्वारले नै सिंगो काठमाडौंको सडक व्यथालाई प्रतिविम्बित गर्छ । यहि दुरावस्थालाई ध्यानमा राखेर सहरी विकास मन्त्रालयको टोलिले सोमबार स्थलगत अनुगमन गरेको छ ।

बेलाबखत कंलकी नागढुंगा सडकखण्डको हविगतको चर्चा हुने गरेको छ । सरकार गठनसँगै अनुगमनको कामले समेत तीव्रता पाउनु नौलो हुनै छाडेको छ । तर, पनि सुधार अहिलेसम्म देखिएको छैन । यसै मेसोमा सहरी विकास मन्त्री प्रभु साहको टोली कलंकी नागढुङ्गा सडकको अवस्था अनुगमनका लागि निस्कियो ।

अनुगमन टोलीमा मन्त्री देखी मन्त्रालयका उच्च पदस्थहरुको पनि उपस्थिति थियो । निरिक्षणका क्रममा कलंकी, नैकाप, सतुंगल ढुङ्गेअड्डा हुँदै अनुगमन टोली नागढुङ्गा सम्म पुग्यो । अनुगमनको क्रममा सडकको अवस्था निकै नाजुक भएको पाइयो । सडककै नाजुक अवस्थाको कारण आफुहरुले निकै सास्ती भोग्नु परेको गुनासो स्थानियहरुले मन्त्री सामु पोखे ।

विगत लामो समयदेखि निर्माण कार्य सुरु भएको यो सडकखण्ड नबन्नुको कारण अन्य स्थानमा झैं यहाँ पनि ठेकेदारकै ढिलासुस्ती भएको स्थानीयले आरोप लगाए । तर ठेकेदारहरु आफ्नो गल्ति स्वीकार गर्न तयार देखिएनन् । घर भत्काउने क्रममा स्थानीय स्तरबाट नै बिरोध भएको, अदालतले काम तत्काल अगाडी नबढाउन आदेश दिएको बिधुत प्राधिकरणले काममा ढिलाई गरेको र २५ लेनको सडकलाई ११ लेनको बनाउनुपर्ने स्थानियहरुको मागको कारण काममा ढिलाई भएको ठेकेदारहरुको भनाई छ । तर उनीहरुको लापरबाही प्रष्ट देखिन्छ ।

अनुगमनका क्रममा देखिएका यस्ता समस्याहरुको बारेमा आवस्यक छलफल गरि यसको निष्कर्ष खोजिने मन्त्री साहले बताए । अनुगमनका क्रममा ठेकेदार र स्थानीय स्तरको केही गल्तिहरु देखिए पनि यो विषयमा सरकारी निकाय पनि उत्तिकै जिम्मेवार छ । एक दुई पटक अनुगमन गरेको जस्तो गर्ने तर त्यसको निष्कर्ष नखोज्ने प्रबिृत्तीको अन्त्य नभएसम्म यस्ता समस्याको कहिल्यै समाधान हुन सक्दैन ।

 

 

LIVE TV