९ श्रावण २०७४, सोमबार

भरतपुर । भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको पेशी साउन १२ गतेका लागि तोकिएको छ ।वडा नम्बर १९ मा गणनाका क्रममा मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ सोमबार पनि नसकिएपछि १२ गतेका लागि पेशी तोकिएको हो ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलाशमा तोकिएको उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । सोमबार निर्वाचन आयोगको तर्फबाट महान्यायधिवक्ता रमण श्रेष्ठ, उपमहान्यायधिवक्ता घनश्याम ओझा, सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीलगायतले बहस गर्नुभएको थियो ।

मुद्दाको विपक्षमा बहस गर्दै उहाँहरुले पुनः निर्वाचन गराउनुपर्ने जिकिर गर्नुभएको थियो । यसअघि आइतबार रिट निवेदकका तर्फबाट अधिवक्ताहरू चन्द्रकान्त ज्ञवाली, विजयकान्त मैनाली, हरि उप्रेती, बाबुराम दाहाल, हरि फुयाँल, खिमलाल देवकोटा तथा गोविन्द बन्दीले बहस गर्नुभएको थियो ।

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको पाइएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा च्यातिएको मतपत्र यसअघि नै सर्वोच्चमा बुझाइएको छ ।

LIVE TV