८ श्रावण २०७४, आईतवार

जम्बो आकारको केन्द्रीय महाधिवेशन आयोजक समिति विघटन गर्ने माओवादी केन्द्रको निर्णय, पत्रकार सम्मेलनमार्फत बिस्तारित बैठकका निर्णय सार्वजनिक गरिने ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारित बैठक सकिएको छ । सात दिनभन्दा लामो समय बसेको विस्तारित बैठकले माओवादी केन्द्रको जम्बो आकारको केन्द्रीय महाधिवेशन आयोजक समिति बिघटन गर्ने निर्णय गरेको छ ।

बिस्तारित बैठकका निर्णयहरु बारे जानकारी दिन आज माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्दैछ । कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालयमा अपरान्ह २ बजे पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सावर्जनिक गरिने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले रामबहादुर थापा बादल, मातृका यादव, मणि थापा र तिलक परियार नेतृत्वको पार्टी तथा समूहसँग माओवादी एकतापछि २ हजार बढीको महाधिवेशन आयोजक समिति बनाइएको थियो ।

महाधिवेशन आयोजक समितिका सदस्यहरु सबै केन्द्रीय सदस्य बन्ने भएकाले माओवादी केन्द्र विश्वकै सबैभन्दा धेरै केन्द्रीय सदस्य भएको पार्टी बनेको भन्दै कार्यकर्तातहबाटै व्यापक आलोचना भएको थियो । अब महाधिवेशन आयोजक समिति ९९ सदस्यीय बनाउने तयारी माओवादीले थालेको छ । यसअघि वर्षमान पुन अनन्त नेतृत्वको एक समितिले पनि केन्द्रीय समिति ९९ सदस्यीय बनाउन सुझाव दिएको थियो ।

 

LIVE TV