७ श्रावण २०७४, शनिबार

गोरखा । समाजसेवी  प्रेमकुमार लामा (करमान) उमेरले ७० टेक्नै लागेका छन्। अजिरकोट गाउँपालिका ४ सिरान्डाँडाका करमान नै गाउँको विकास निर्माणको नेता हुन्। गाउँलेले पनि करमानलाई राम्रै विश्वास गरेका छन्।

गाउँलेको खुसी नै आफ्नो खुसी भनेर करमानले २०६८ सालदेखि गाउँमा विजुलीबत्ती लैजान पहल गरे। उनको पहलले नै अहिले गाउँ झिलिमिली भएको छ। सिरान्डाँडा, भच्चेक, मात्ले, फाल्पु लगायतका गाउँमा बत्ती बालेर मात्र आफ्नो घरमा बत्ती बाल्ने अठोटका साथ उनी लागेका थिए।

०६८ सालदेखि यो क्षेत्रमा बत्ती ल्याउन लडिरहें’ उनले भने ‘बल्ल सबैकोमा बत्ती बल्यो ।’ त्यस क्षेत्रका करिब ४ सय घरधुरीमा बिजुली बत्ती बलेपछि गत मंसिर २० गते करमानले आफ्नो घरमा पहिलो पटक बिजुली बत्ती बाले। वाइरिङ भने गरेर राखेका थिए।

अहिले करमान चैनपुर भच्चेक सिरान्डाँडा विद्युत उपभोक्ता समितिका अध्यक्षसमेत हुन्। । गाउँमा उनकै पहलले मात्र बिजुली बत्ती सम्भव भएको सिरान्डाँडाका कान्छा लामा बताउँछन् ।

LIVE TV