६ श्रावण २०७४, शुक्रबार

काठमाण्डौ ।प्रमुख तीन दलका शीर्ष नेताहरु लामो समयपछि सार्वजनिक कार्यक्रममा एकैपटक एकै ठाउँमा उभिएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल एउटै सार्वजनिक कार्यक्रममा देखिदै मुलुकको समृद्धिका लागि सहकार्य आवश्यक भएको धारणा राखेका छन् ।

उद्योग परिसंघको कार्यक्रममा शीर्ष नेताहरुले सहमति र सहकार्यबाट नै मुलुकको विकास गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले तोकेको समयसीमा भित्र निर्वाचन सम्पन्न गरेर देशलाई विकासको गति दिन जरुरी रहेको बताउनुभयो । उहाँले दलहरुबीच देखिएको समस्या सहमति र वार्ताको माध्यमबाट समाधान गरेर अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ ७ गते भित्र सम्पूर्ण निर्वाचनहरु सम्पन्न गरेर मुलुकको आर्थिक विकासमा आमुल परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले दलहरुबीच देखिएका विभिन्न असहमतिहरुलाई चिर्दै सबै राजनीतिक दलहरु एक भएर सहमति र सहकार्यमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता आंैल्याउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा देखिएको राजनीतिक अस्थिरताको मुख्य कारण सम्झौतामा रहेर हुने राजनीति भएको खुलासा गर्नुभयो । उहाँले अस्थिर राजनीति र सरकार परिवर्तनले विभिन्न क्षेत्र धरासायी हुँदै गएको उल्लेख गर्दै सम्झौता भन्दा पनि सहमतिको आधारमा रहेर सबै राजनीतिक दलहरु अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा तीन दलका शीर्ष नेताहरुले एउटै सार्वजनिक मञ्चबाट सहमतिका साथ अघि बढ्नपर्ने संकल्प समेत लिएका थिए ।

 

LIVE TV