६ श्रावण २०७४, शुक्रबार

लमजुङ । लमजुङ जिल्लामा झण्डै ८ वटा जलविद्युत आयोजनाहरु छन् । झट्ट सुन्दा यतिधेरै जलविद्युत आयोजना भएको जिल्लामा लोडसेडिङ हुँदैन भन्ने सहज अनुमान गर्न सकिन्छ । तर, विडम्वना वर्षायाममा समेत लमजुङबासीले अघोषित लोडसेडिङको मार खेप्नुपरेको छ ।

वर्षायाममा करिब २०० मेघावाट विद्युत उत्पादन हुने यो जिल्लामा अघोषित लोडसेडिङले निकै समस्या सृजना गरेको छ । लमजुङमा निर्माण भएका जलविद्युत आयोजनाहरुबाट उत्पादन हुने विद्युतले जिल्ला पूर्ण लोडसेडिङ मुक्त हुनुपर्ने हो । तर, अनुमान विपरित अघोषित लोडसेडिङको मार खेप्न लमजुङबासी बाध्य छन् भन्दा अचम्म लाग्न सक्छ । यस्तै नियति भोग्न बाध्य यहाँका स्थानीय आक्रोशित छन् । वर्षायाममा बढी विद्युत उत्पादन हुँदा वितरण लाइनमा समस्या आएका कारण लोडसेडिङ हुन पुगेको विद्युत प्राधिकरणको भनाई छ । लमजुङमा छिनछिनमा बत्ति आउने जाने हुँदा समस्या बढेको स्थानीय बताउँछन् ।

बर्षायाम शुरु भएसँगै ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी, ४ दशमलव ४ मेगावाटको राँधी र २ मेगावाटको छ्याङ्दीबाट पुरा क्षमतामा विद्युत उत्पादन भैरहेको छ । यस आर्थिक बर्षमा मात्रै जिल्लामा थप ५२ मेगावाट विद्युत उत्पादन भइरहेको छ । हिउँदयाममा खुदी, सिउरी, छ्याङ्दी र राँधी गरेर मुश्किलले १० मेगावाट मात्रै विद्युत उत्पादन गर्ने गरेपनि बर्षायाममा पुरै क्षमतामा विद्युत उत्पादन गर्ने गरेका छन् । आयोजनाहरुबाट पुरै विद्युत उत्पादन हुँदा जिल्लामा खपत हुन नसकेको र लोड धान्न नसकेका कारण ३३ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत दमौली पठाइएको नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो ।

दमौलीस्थित विद्युत प्राधिकरणको शवस्टेशनमा जडान गरिएको २०० एम्पिएर क्षमताको (सिटी) करेन्ट ट्रान्सफर्मरको क्षमता कम भएकाले लोड धान्न नसकेर लाइन जाने आउने भएको न्यौपानेको भनाई छ । वितरणमा समस्या आएपछि दैनिक कैंयौ पटक विद्युत जाने आउने हुँदा उपभोक्ताहरु समस्यामा पर्ने गरेका छन् ।

 

LIVE TV