६ श्रावण २०७४, शुक्रबार

मोरङ । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजय गच्छेदारले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई निष्पक्षता देखाउन आग्रह गर्नु भएको छ । उहाँले आयोगले निष्पक्षता देखाउन नसके विवाद उत्पन्न भई निर्वाचन प्रभावित हुने भएकाले निष्पक्ष भएर काम गर्न आयोगलाई आग्रह गर्नुभएको हो ।

शुक्रवार विराटनगरमा संचारकर्मीहरुसंग उपप्रधानमन्त्री गच्छेदारले महिला, जनजाति लगायतको प्रतिनिधित्व आयोगमा नभएकाले समावेशी नभएको गुनासो आउनु स्वभाविक भएपनि आयोगले निर्वाचन क्षेत्र निर्धारणमा भने निष्पक्षता देखाउनुपर्ने टिप्पणी गर्नुभयो । उहाँले मंसिर १० गते भित्र प्रदेश र संघीय संसदको निर्वाचनका लागि सरकारले तयारी थालिसकेको समेत जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री गच्छेदारले राजपाको माग सम्बोधन गर्न सरकार अत्यधिक लचिलो भएको बताउदै संविधान संशोधन र स्थानीय तहको संख्या भने तेश्रो चरणको निर्वाचन अघि सम्भव नभएको स्पष्ट पार्नुभयो । उहाँले असोज २ गतेको निर्वाचन कुनै पनि हालत गरिने जानकारी दिनुभयो ।

स्थानीय विकास मन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री गच्छेदारले साउन १५ गते भित्र स्थानीय शासन ऐन फाष्ट ट्रयाकमा ल्याउन लागिएको जानकारी दिनुभयो । उहाँले स्थानीय शासन ऐन आएपछि अहिले देखिएको कर्मचारीको वरिष्ठता विवाद समाधान हुने बताउनुभयो । उहाँले कर्मचारीको वरिष्ठता विवाद समाधान गर्न मंत्रालयले स्थानीय तहमा वरिष्ठलाई पठाउन सकिने स्पष्ट पार्नुभयो ।

 

LIVE TV