५ श्रावण २०७४, बिहीबार

काठमाण्डौ । वर्तमान व्यवस्थापिका संसद संविधान अनुरुप माघ ७ गतेसम्म मात्र जीवित रहन्छ । त्यस अगावै सरकारले संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसका लागि निर्वाचन क्षेत्र निर्धारण आयोगको कामलाई तीब्रता दिनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

व्यवस्थापिका संसदको बिहीबार बसेको बैठकमा नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न दबाब दिएको छ । बैठकमा नेकपा एमालेका सांसद भीम रावलले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गर्नुभयो । बैठकमा विशेष समय लिएर बोल्दै रावलले निर्वाचन क्षेत्र निर्धारण आयोगको कामलाई छिटो अघि बढाउने गरी आवश्यक नीतिगत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उपाध्यक्ष रावलले राष्ट्रिय सभा निर्वाचन कानुन छिटो बनाउन पनि सरकारसँग माग गर्नुभयो ।

सांसद रावलले अब पनि आयोग गठन नगरे निर्वाचनमा ढिलाई हुने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैबीच सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक संसदमा पेश गरेको छ । बैठकमा सत्तासाझेदार नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले स्थानीय तह कार्यकारी आदेशको भरमा चलाउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्थानीय तहलाई कानुनको शुन्यताको अवस्थामा पु¥याउने काम सरकारबाट भएकोमा आपत्ति जनाउनुभयो ।

 

LIVE TV