४ श्रावण २०७४, बुधबार

विनय तिम्सिना
इलाम । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा स्नातक तह शिक्षाशास्त्र अन्तर्गतको दोश्रो बर्षको इन्टरनेशनल पोलिटिक्स बिषयको परीक्षा दिन पुगेका विद्यार्थीहरुको हातमा पोलिटिक्स अफ नेपालको प्रश्नपत्र परेपछि परीक्षार्थीले परीक्षा नदिइ हल छोडेका छन् । नपढेको बिषयको परीक्षा पत्र आएको भन्दै ६८ जना विद्यार्थी परीक्षा हलबाट बाहिरिएपछि बुधवारको परीक्षा स्थगन गरिएको क्याम्पस प्रशासनले बताएको छ ।

गलत प्रश्नपत्रको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयले भने यस बिषयमा आफनो धारणा सार्वजनिक गरेको छैन । यस्तो समस्या इलाम बाहेक अन्य जिल्लामा भने देखिएको छैन । क्याम्पस प्रशासन भने त्रिभुवन विश्व बिद्यालयको लापरवाहीका कारण यस्तो हुन गएको तर्क राख्छ । नियमित क्याम्पस प्रमुख धनबहादुर न्यौपानेले विश्व विद्यालयले ४ बर्षे शिक्षाशास्त्र स्नातक दोश्रो बर्षको पाठयक्रमको दोश्रो पटकको संशोधन क्याम्पसमा आएकोमा इन्टरनेशनल पोलिटिक्स कोड नं ४२८ भन्ने आएकाले सोही अनुसार अध्यापन गराइएको बताउनु हुन्छ । परीक्षामा पोलिटिक्स अफ नेपालको प्रश्नपत्र आएपछि डिन कार्यालयसंग सम्र्पक गरेर परीक्षा रोक्न लगाइएको पनि उहाँले जानकारी दिनुभयो ।

विद्यार्थीहरु क्याम्पस प्रशासन जिम्मेबार नहुँदा यस्तो समस्या भोग्नु परेको बताउँछन । परीक्षार्थी सरोज लिम्बुले भने एक बर्षसम्म एउटा बिषय पढियो अर्को बिषयको प्रश्नपत्र आएकाले आफुहरु परीक्षा त्याग्न बाध्य भएको बताए ।

यता विद्यार्थी संगठनहरु भने यस विषयमा आफुहरुलाई थाहा नभएको बताएका छन् । यदि त्रिभूवन विश्व विद्यालयले गलत गरेको हो भने यसलाई सच्यएर अगाडि वढ्नु पर्ने उनीहरुको भनाई छ । इलाम क्याम्पसमा कोर्ष परिवर्तन भएको पत्र अहिले सम्म पनि नआएको क्याम्पस प्रशसनले जनाएको छ ।

 

LIVE TV