४ श्रावण २०७४, बुधबार

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा मूल्यवृद्धि अन्य क्षेत्रका तुलनामा कम भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा काठमाडौँ उपत्यकामा मूल्यवृद्धि कम भएको उल्लेख गरेको हो ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा चार, तराईमा ३.१, हिमालमा १.८ र काठमाडौँ उपत्यकामा १.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२, तराईमा ९.५, हिमालमा १०.२ र काठमाडौँ उपत्यकामा १३ प्रतिशत रहेको थियो ।
पछिल्लो ११ महिनामा खाद्य मुद्रास्फीति एक प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ११.९ प्रतिशत थियो । दलहन तथा गेडागुडीको मूल्यमा १७.५, तरकारीको मूल्यमा १६.३ र घ्यू तथा तेलको मूल्यमा एक प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो ।

चिनी तथा चिनीजन्य पदार्थको मूल्य ११.५ र मदिराजन्य पेयपदार्थको मूल्य १०.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १०.५ प्रतिशत रहेको थियो । त्यसमा लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्य लगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको बैंकले जनाएको छ ।

 

LIVE TV