३ श्रावण २०७४, मंगलवार

बर्दिया । जिल्लाका छुट्टाछुट्टै स्थानमा नदीमा डुबेर दुई जनाको ज्यान गएको छ। ठाकुरबाबा नगरपालिकामा पर्ने बबई नदीको किनार ढोढरी नहरमा डुबेर एक बालिकाको ज्यान गएको छ। मंगलबार दिउँसो नहरमा नुहाउने क्रममा ठाकुरबाबा–३ मानपुर गाउँकी ११ वर्षीया बालिका सपना एडीको ज्यान गएको बगनाहा प्रहरी चौकीका इन्चार्ज रामबहादुर थापाले जानकारी दिए।

प्रहरीका अनुसार बालिका एडी आफ्ना ४ जना साथीसहित नहर छेउमा भैसी चराउन गएकी थिइन्। दिउँसो गर्मी भएपछि उनीहरुमध्ये ३ जना नहरको मानपुर जिरो प्वाइन्ट नजिक नुहाउन नहर पसेका थिए। नुहाउन पसेकामध्ये एक जना बेपत्ता भएपछि अरु दुई जना साथीहरुमध्ये एक जना आफैँ नहर बाहिर निस्केका थिए। अर्की एक जनालाई स्थानीयले उद्धार गरेर बाहिर निकालेका थिए।

बालिका बेपत्ता भएपछि नहर बन्द गरिएको थियो। नहर बन्द भएपछि घटनास्थलबाट झन्डै एक सय मिटर तलतिर बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले प्रहरीले जनाएको छ। बर्दियाकै गेरुवा गाउँपालिका–६ मा तटबन्धनमा खस्दा एक वृद्धको ज्यान गएको छ। गेरुवा गाउँपालिका–६ का ६५ वर्षीय शेरबहादुर शाही घर नजिकै स्याउली बजारस्थित तटबन्धनमा खस्दा ज्यान गएको प्रहरीले जनाएको छ। रक्सी खाएर हिडिँरहेका शाहीको तटबन्धनमा खस्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

LIVE TV