३ श्रावण २०७४, मंगलवार

काठमाडौंँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पले घर भत्किएका पीडितले २०७५ असारभित्रमा तोकीएको अनुदान रकम लिएर घर बनाइसक्नुपर्ने समय सीमा तोकेको छ ।

गत असार २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको बैठकले अनुदान प्राप्त गर्ने अन्तिम समय स्वीकृत गरेपछि प्राधिकरणले यो निर्णय गरेको हो ।

आवास अनुदान सम्झौता गरेर पनि घर निर्माण थाल्नेको सङ्ख्या अत्यन्तै न्यून भएपछि समयसीमा तोकिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।
प्राधिकरणको तालिका अनुसार पहिचान भएका सबै लाभग्राहीले आगामी कात्तिक मसान्तभित्र अनुदान सम्झौता गरेर पहिलो किस्ता लिइसक्नुपर्नेछ ।यस्तै, २०७३ पुस मसान्तसम्म पहिलो किस्ता प्राप्त गरेकाले अबको एक वर्षभित्र र कात्तिक मसान्तभित्र पहिलो किस्ता बुझ्नेले तोकिएको ढाँचामा घर निर्माण थालेर आगामी चैत्र मसान्तभित्रै दोस्रो किस्ता लिइसक्नुपर्नेछ ।
यसैगरी, २०७४ पुस मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले २०७५ जेठ मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्नुपर्नेछ ।
पछिल्लो तथ्याङ्कअनुसार निजी आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता भएका छ लाख २८ हजार ८२२ घरधुरीमध्ये पाँच लाख ९४ हजार १५० घरधुरीले पहिलो किस्ता लिएका छन् । पहिलो किस्ता बुझ्नेमध्ये ५२ हजार १६६ घरधुरीले मात्र दोस्रो किस्ता लिएर निर्माणलाई निरन्तरता दिएका छन् ।

LIVE TV