३१ असार २०७४, शनिबार

चितवन । विवाहपछि भोजभतेर गरेर लाखौँ रुपैयाँ स्वाहा पार्ने प्रचलनलाई चिर्दै रत्ननगरको एउटा परिवारले विवाहपछि भोजमा खर्च गर्ने रकम विद्यालयलाई हस्तान्तरण गरेको छ ।

रत्ननगर नगरपालिका–१ बकुलहरका तिलक पौडेलले आफ्ना कान्छा छोरा रमेशको विवाहको भोज नगरी रु एक लाख ५० हजार १६५ आज विद्यालयलाई हस्तान्तरण गरिएको हो ।पौडेल परिवारले रत्ननगर नगरपालिका–१ स्थित बकुलहर माध्यमिक विद्यालय, ओमशान्त राष्ट्रिय प्राथमिक विद्यालय र जन्मस्थल जैमिनी नगरपालिका–५ बिनामारे बाग्लुङको सर्वोदय जनक उच्च माध्यमिक विद्यालयलाई रु ५०÷५० हजारका दरले हस्तान्तरण गरेको हो ।

आज यहाँ आयोजित अक्षयकोष स्थापनार्थ सहयोग रकम हस्तान्तरण कार्यक्रममा बेहुला रमेशका बुबा तिलक, आमा सावित्रा, दाजु गणेश र बेहुली अस्मिता चालिसेले संयुक्तरुपमा चेक हस्तान्तरण गरियो । रमेशको भरतपुर महानगरपालिका–२३ की अस्मितासँग यही असार २८ गते परम्परागत विवाह भएको थियो ।कार्यक्रममा बेहुलाका बुबा तिलकले समाज परिवर्तनका लागि विद्यालयलाई अक्षयकोष स्थापनार्थ उक्त सहयोग रकम हस्तान्तरण गरेको बताए ।

LIVE TV