३१ असार २०७४, शनिबार
  • यामराज कटुवाल

दैलेख । सुन्दर सुदुरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाका अनगिन्ति पीडाहरु मध्ये छाउपडी दर्दनाक पाटो हो । छाउपडीको नाममा महिलाले भोग्नुपर्ने पीडाको बयान गरि साध्य छैन, सुदुरपश्चिममा र मध्यपश्चिमका पहाडी जिल्लाहरुमा । रजस्वला महिलाको नियमित प्रक्रिया हो । तर, रजस्वला हुनु भनेको दुःखको ओइरो सम्झिन बाध्य छन्, महिलाहरु । घर भन्दा पर झुपडीमा बस्न बाध्य कतिपय महिलाले ज्यान समेत गुमाएका छन् । यो कहाली लाग्दो कूप्रथाको अन्त्य कहिले होला ?

मध्यपश्चिमको पहाडी जिल्ला दैलेखमा छाउपडीको कूप्रथाबाट जेठ र असारमा मात्र २ जनाले ज्यान गुमाएका छन् । रजस्वला भएपछि घर भन्दा पर बनाइएको झुपडीमा बस्न बाध्य लालसरा विक र तुलसी शाहीको गत जेठ र असारमा सर्पले टोकेर ज्यान गयो । यो त पछिल्ला उदाहरण मात्र हो । यसरी अकालमा ज्यान गुमाउन बाध्य महिलाको पीडा कसले पो सुनिदेला । चर्चा नहुने होइन, राजधानी काठमाडौंका पाँच तारे होटलहरुमा छाउपडीका विषयमा बहस र छलफल नहुने होइन तर, दुरदराजसम्म यहाँको बहस कहाँ पुग्छ र ? यस्ता पीडा दैलेखमा बग्रेल्ती भेटिन्छ ।

महिला अधिकारका बहस समाचारमा मात्र सुन्न विवस छन्, यहाँका महिला । अहिलेसम्म छाउपडी उन्मुलनका लागि ठोस कार्यक्रम सरकारले बनाउन नसकेको गुनासो पीडितहरुको सधैव रहन्छ । चालु आर्थिक वर्षमा महिला विकास कार्यालयले सामान्य रकम खर्च गर्ने निधो गरेको थियो । महिला विकास कार्यालयकी अधिकृत अनिता ज्ञावलीले बल्ल बल्ल छाउपडीको अध्ययनका लागि एक लाख ५० हजार खर्चेको बताइन ।

छाउपडिको पीडा गनि साध्य छैन । फोहोर र साँघुरो झुपडिमा बस्दा घसर्ने जीवको सिकार बन्नु नौलो हुँदैन । जीव जन्तुको मात्र होइन मान्छेबाटै डर मान्न विवश बन्नुको पीडा अर्कै छ । बलात्कारको सिकार समेत बन्ने गरेको तथ्यांक छ । आठविस नगरपालिकी भरतकुमारी सुनार यो नारकिय जीवनबाट कहिले उन्मुक्ति मिल्ला भन्दै पुकार गर्छिन ।

महिला अधिकारका नाममा थुप्रै परिवर्तनहर भए । महिला तथा बालबालिका सेवा केन्द्रकी संयोजक रमा श्रेष्ठ दैलेखमा महिला अधिकार सपना मात्र बनेको बताउँछिन् । महिला संघकी जिल्ला अध्यक्ष सीता रानाको पनि भनाई उस्तै छ । जनचेतनाको अभाव हटाउन कसैले पहल नगरेको उनको गुनासो छ ।

छाउपडि प्रथा धार्मिक अन्धविश्वासको मुख्य जड हो । यसको अन्त्य कानुनले मात्र हुँदैन, जनचेतना जगाइनु आवस्यक हुन्छ । महिला अधिकारका नाममा काठमाडौंमा हुने ठूल–ठूला भाषणले मात्र दैलेखको पीडा अन्त्य हुँदैन । त्यसका लागि दैलेख जस्तै विकट जिल्लामा चेतना फैलाउन जरुरी हुन्छ ।

 

LIVE TV