३१ असार २०७४, शनिबार

काठमाण्डौ । निर्वाचन आयोग परिसरमा थुप्रै गाडीहरु प्रयोगहीन भइरहेका बेला निर्वाचन आयोगले पाँच वटा नयाँ सवारी साधन खरिद गर्नका लागि बोलपत्र आह्वान गरेको छ । गाडी खरिद प्रक्रियामा आयोग पदाधिकारी र सचिवबीचको विवादका कारण चर्चामा रहेको गाडी खरिद प्रकरण पनुः विवादमा आएको हो ।

२०६४ मा किनेका गाडी फेर्नका लागि प्रमुख आयुक्तसहित ४ आयुक्तका लागि नयाँ गाडी खरिद प्रक्रिया अगाडि बढाइएको हो । आयोगमा आयुक्तहरुका लागि गाडी अपुग भएका भने होइनन् । तर, आयोगलाई सरकारले निर्वाचनको समयमा मात्रै बजेट छुट्याउने भएकाले पनि अहिलेनै गाडी किन्न आयुक्तहरु अग्रसर देखिएका छन् । निर्वाचन ऐनअनुसार निर्वाचनका लागि अत्यावश्यक सामान छोटो प्रक्रियाबाट सिधै खरिद गर्न पाउने व्यवस्था छ ।

आयुक्तहरुले सोही व्यवस्थाअनुसार गाडी खरिद गर्नुपर्ने बताउँदै आएका थिए भने गोपिनाथ मैनालीले सार्वजनिक खरिद ऐनअनुसार मात्रै सामान खरिद गर्न र मितव्ययी बन्न सुझाएका थिए । तत्कालीन सचिव गोपीनाथ मैनालीले विलासी गाडी खरिद रोक्न खोज्दा सरकारले निर्वाचन आचारसंहिता विपरित आयोगलाई काम गर्न सजिलो होस् भन्दै सरुवा गरेपछि विवाद बढेको थियो । तर, आयोगले तत्कालीन सचिवले भनेका सबै विषय गलत भन्दै सरकारको निर्णयमा सहयोग गरेको थियो ।

ऐनअनुसार जानुपर्ने भनेपछि आयोगले शुक्रबार ५ वटा स्पोर्ट युटिलिटी भेहिकल (एसयुभी) मोडेलका गाडी खरिद गर्नका लागि बोलपत्र आह्वान गरेको छ । एसयुभी गाडीको बजार मुल्य न्युनतम ४० लाख देखि १ करोड रुपैयाँ पर्छ ।

LIVE TV