३० असार २०७४, शुक्रबार

सरकारी कर्मचारीहरुको विदेश भम्रण र राज्यले गरेको खर्चका बिषयमा निकै चर्चा चलेको छ । सरकारी ढुकुटीबाट, अनुदानबाट अनि विभिन्न दाताको ऋणबाट सयौँको संख्यामा कर्मचारीहरु करोडौँ खर्च गरेर वर्षै पिच्छे विदेश भम्रण गरिरहकेका छन्। दशकौँ देखी कर्मचारीहरु विभिन्न उदेश्य र कार्यक्रमा सहभागी हुन विदेश भम्रण गर्दै आएका छन् । हुन त विकसित देशहरुको भम्रण नगरी ति देशका प्रगतीबाट सिक्न पाइदैन, ति देशको विकास र परिवर्तन बुझ्न पाइँदैन ।

तर दुर्भाग्य हिजोका राजा महाराजा देखी आजका सामान्य कर्मचारीसम्मको विदेश भम्रणले मुलुकले खासै उपलब्धी पाएन । विश्व विख्यात युनिर्भसिटीमा पढेका र विकसित देश घुमेका हिजोका राजाहरुले आँफु कार्यकारी हुँदापनि फर्केर आफ्नो देशमा केही गरेनन् । जम्बो टोली सहित विदेश जाने प्रधानमन्त्री मन्त्रीहरुले फर्केर आई आफ्नो देशमा माखो मारेनन् ।

ठुला ठुला सेमिनारहरुमा भाषण ठोकेर अधिकांश मन्त्री ज्युहरु श्रीमती,छोराछोरी र आफन्तका लागि मंहगा मंहगा सरसामान किन्न सपिङ महलहरुमा व्यस्त रहे । ति देशको विकाशबाट केही सिकेर आफ्नो मुलुक बनाउने सोच कसैमा आएन । अरुको देशको एरर्पोट देखी बाटोघाटो, सुसासन, सरसफाइ लगाएतका वेसिक कुरा आफ्नो देशमा लागु गर्ने प्रयास समेत नगर्दा कुनै मन्त्रीलाई आजसम्म लाज लागेको छैन । बाँकी रह्यो सयौँ कर्मचारीहरुको विदेश भम्रण । दैनिक १/२ सय डलर भत्ता आउने विदेश भम्रणबाट देशले के उपलब्धी पायो भन्ने कुराको जवाफ यो मुलुकको कुनै पनि कार्यालयको हालतले स्पष्ट पार्छ ।

चिल्ला सडक, स्मार्ट र प्रविधि मैत्रि कार्यालयहरु अनि जनतालाई सेवा दिने सहज सिस्टम देखेर आएका हाकीम साबहरुले विदेश जाँदा एंगल फेरी फेरी सेल्फी खिचे तर फर्केर आई आफ्नो टेबुलको धुलो पुछ्न समेत जानेनन् । दुख यसैमा लागेको छ कि राज्य कोषको करोडौँ खर्च हुँदा कर्मचारीको बायोडाटा मात्र राम्रो भयो मुलुकले केही पाएन । उपलब्धीको नाममा अमेरीका बेलायत घुमेर त्यहाँ त बच्चा बच्चाले इङग्लिस बोल्दा रहेछन् भनेर तिन छक्क पर्ने नेता कर्मचारी मात्रै पायो मुलुकले । केही अपवादलाई छाडेर ।

LIVE TV