२९ असार २०७४, बिहीबार
  • श्रीहरि पौडेल

तँनहु । नेपाली साहित्यका नक्षत्र एवं आदिकवि भानुभक्त आचार्यको तनुहँको चुँदी रम्घास्थित जन्मघर भग्नावशेषमा परिणत हुँदै गएको छ । भानुको घर खण्डहर बन्दै जान थालेपछि भानु जन्मस्थल विकास समिति यसको संरक्षणमा जुट्न थालेको छ ।

भानु शिखर कोटेरी गुरुयोजना अनुसार पहिलो चरणमा १ करोड ३० लाख रुपैयाँको लागतमा रामायण भवन निर्माण भइरहेको समेत भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जानकारी दिनुभयो । रामयणभवन सम्पन्न भएपछि भानुगृह, संग्रहालय, अतिथिगृह गरि १९ करोड रुपैयाँका लागतमा १० बर्ष भित्र गुरुयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको पनि रानाभाटले बताए ।

विकास समितिले भानु शिखर कोटेरी गुरुयोजना बनाएर संरक्षणमा लागेको भानु जन्मस्थल विकास समितिका अध्यक्ष श्रीभद्र आचार्यले जानकारी दिए ।
चँुदी रम्घाका स्थानीयवासीले भने राष्ट्रिय विभूति आदिकवि भानुभक्त आर्चायको जन्मस्थल चुँदी रम्घाको जति विकास हुनुपर्ने हो त्यो भने हुन नसकेको गुनासो गरेका छन ।

भानुभक्तको नाममा विदेशमा धेरै राम्रा राम्रा काम गरेको सञ्चार माध्यममा थाहा पाएको तर उनकै जन्मस्थलको भने विकास नभएको प्रति स्थानीयवासी शारदा पण्डितको दुखेसो छ । तर गुरुयोजना बनाएर विकास निर्माणका कार्य सुरु गरेकाले भानुजन्मस्थल विकास हुने र साहित्यक पर्यटकीय केन्द्र बन्ने आशा भने उनमा छ ।

भानु जयन्तीमा बर्षेनी बिभिन्न स्थानमा रामायण वचन, कविता वचन प्रतियोगिता तथा विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ । तर भानु जन्मस्थल चुँदी रम्घामा भने खासै कार्यक्रम गरेको पाइन्न । जसले गर्दा भानु जयन्तीमा पनि भानु जन्मघर चुँदी भने जन्मयन्तीमा समेत सुनसान बन्ने गर्दछ ।

 

LIVE TV