२९ असार २०७४, बिहीबार

काठमाडौं । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिमा आज बसेको बैठकले अर्थमन्त्रालयलाई निर्धारीत एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न  निर्देशन दिएको छ । बैठकले ठूला करदाता कार्यालयले यही असार १३ गते एनसेलको लाभकर रु ६० अर्ब ७१ करोड निर्धारण गरेकाले सो रकम तत्काल असुल गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको हो ।

समितिले एनसेल कतिपटक बिक्री वितरण र शेयर हस्तान्तरण भयो, के कति मूल्यमा कारोबार भयो र गरियो भन्नेबारेमा पनि सत्य तथ्य जानकारी उपलब्ध गराउन अर्थमन्त्रालय र ठूला करदाता कार्यालयलाई निर्देशन दिएको सभापति डोरप्रसाद उपाध्यायले बताए ।

एक स्रोत अनुसार एनसेलको यो १२औं पटकको किनबेच प्रक्रिया हो । यसअघिको किनबेच प्रक्रियाको कुनै चर्चा नआएको एनसेलको बिक्रीको लाभकर नर्वेजियन कम्पनी टेलियाले मलेसियन कम्पनी एक्जियटालाई बिक्री गरेपछि मात्रै बाहिर आएको हो ।

पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद विष्णु पौडेलले लाभकर निर्धारण भए पनि नउठाउने र फेरि पनि छुट दिने प्रवृत्ति हावी हुन सक्ने भन्दै विक्रेता वा क्रेता कोबाट कर असुलउपर गर्नपर्ने हो प्रष्ट गरी, तत्काल ३५ दिनभित्रै रकम असुल गर्न वा तोकिएको कर उठाउन सरकारले पहल गर्नुपर्ने बताए ।

 

LIVE TV