२९ असार २०७४, बिहीबार

काठमाण्डौ । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुभक्तले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पु¥याएका थिए ।

भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाले आयार्यको २०४ औँ जन्मजयन्ती आज मनाउँदै छन् ।

विसं १८७१ असार २९ गते तनहँको चुँदीरम्घामा जन्मेका भानुभक्तले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’मार्फत नेपालीबीचको भावनात्मक एकतालाई जोड्ने काम गरेका थिए । भानुभक्तले नेपाली भाषामा भावानुवाद गरेको ‘रामायण’ नेपालका विभिन्न जातजातिले घर घरमा लय हालेर पढ्न थालेका थिए । पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् । ‘प्रश्नोत्तर’ कृतिमा मानिसलाई नैतिक र व्यावहारिक बन्ने उपदेश दिइएको छ भने ‘वधूशिक्षा’मा छोरी र बुहारीलाई अर्तीउपदेश दिइएको छ ।

भानुभक्तका फुटकर कवितामा कान्तिपुर र प्रकृतिको वर्णन, ढिलो प्रशासनतन्त्रलाई व्यङ्ग्य गरिनाका साथै समाजका यथार्थपरक घटना र परिवेशलाई चित्रण गरिएको छ । भानुभक्तको विसं १९२३ असोज ६ गते निधन भएको थियो ।

LIVE TV