२८ असार २०७४, बुधबार

इलाम । सरकारले तोकेका सूचक पूरा गरेसँगै इलाम बुधबार साक्षर जिल्ला घोषित भएको छ । ९७ दशमलव ६ प्रतिशत जनसंख्या साक्षर भएसंगै इलामलाई साक्षर जिल्ला घोषणा गरिएको हो । अब इलाम ३७ औं साक्षर जिल्ला बनेको छ ।

आर्थिक वर्ष २०६८-०६९ मा राष्ट्रिय साक्षर अभियान सुरु हुँदा इलाममा ८३ दशमलव ७ प्रतिशत जनसंख्या साक्षार थिए । २०६९-७० मा साक्षरता ९३ दशमलव ७ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७०-७१ मा ९४ दशमलव ७ प्रतिशत साक्षर रहेको इलाममा २०७१-७२ मा साक्षरता ९७ दशमलव ६ प्रतिशत पुगेसंगै साक्षरता जिल्ला घोषणा गरेको जिल्ला शिक्षा अधिकारी टंक गौतमले जानकारी दिए ।

इलाममा राष्ट्रिय साक्षरता अभियान शुरु हुँदा इलामका ४० हजार ५ सय २३ जना निरक्षरहरुलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको थियो । साक्षरता दर बढाउन जिल्लाका साविकका २५ गाविसमा सामुदायिक अध्ययन केन्द्र स्थापना गरि साक्षरता अभियान नै सुरु गरिएको थियो । पाँच वर्षको अन्तरालमा १४ प्रतिशत साक्षरता बढेको जिल्ला शिक्षा अधिकारी गौतमले बताए । ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएपछि साक्षर जिल्ला घोषणा गर्न सक्ने प्रावधान रहेको छ ।

 

LIVE TV