२८ असार २०७४, बुधबार

विराटनगर । नेपाल प्रहरीमा जागिर खानका लागि आएका तीन जना नक्कली परीक्षार्थीलाई विराटनगरवाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

नक्कली परीक्षार्थीको सहयोग लिएर प्रहरीमा भर्ना हुने प्रयास गर्दै गर्दा सुनसरीको धरान उपमहानगरपालिका(२ का २१ वर्षीय आरबी राई, १९ वर्षीय अक्षयकुमार राई र २७ वर्षीय आनन्द राईलाई प्रहरीले आज पक्राउ गरेको हो ।

पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्राईले प्रहरी जवान पदका लागि दरखास्त दिएका अक्षयकुमारको स्थानमा परीक्षा दिन आएका आरबी र आरबीको स्थानमा परीक्षा दिएका आनन्दलाई पक्राउ गरिएको बताए ।अक्षयकुमार र आरबी दुबै जनाले प्रहरी जवान पदमा भर्ना हुनका लागि आवेदन दिएका थिए ।आरबीलाई अक्षयकुमारको ५६७ दर्ता नम्बरमा परीक्षा केन्द्रमा प्रवेश गरी परीक्षाको पहिलो चरणको विभिन्न विधाहरुमा सहभागी हुँदै गर्दा पक्राउ गरिएको जानकारी डिआईजी भट्राईले दिए ।

अक्षयकुमारलाई भने प्रहरीले परीक्षा केन्द्र बाहिर लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । दुई जनालाई पक्राउ गरेपछि आरबीको २३७ दर्ता नम्बरमा भने सोमबार नै परीक्षामा सहभागी भएर आनन्दले परीक्षा दिइसकेको खुलेपछि आनन्दलाई पनि धरान स्थित आफ्नै घरबाट पक्राउ गरिएको डीआईजी भट्राईले बताए ।पक्राउ परेका तीनै जना नातामा दाजुभाई पर्छन । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरमा केही दिनदेखि प्रहरी जवान पदका लागि भर्ना छनौट परीक्षा भइरहेको छ ।

पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाउने प्रहरीले वताएको छ ।

LIVE TV