२८ असार २०७४, बुधबार

काठमाडौं । आक्रोश र पीडा छ नारायणगढ मुग्लिन सडकखण्ड भएर यात्रा गर्ने यात्रुहरुको । सयौंको संख्यामा गाडीहरु अलपत्र छन् । पहिरोको जोखिम बढेको भन्दै संसद्को विकास समितिले दिएको निर्देशन भन्दै प्रशासनले रात्रीकालीन सवारी साधानहरलाई रोक लगाएपछि अहिले मुग्लिन र नारायणगढ दुवैतर्फ सवारी साधनहरु रोकिन थालेको छ । जस्को कारण देशको एक मुख्य राजमार्ग भएर यात्रा गर्नेहरु आफ्नो पीडा र आक्रोश पोखिरहेका छन् ।

कहाली लाग्दो जाम, सडकको दुर्गती त छ नै साथै बेला बेलामा माथिबाट झरिरहने पहिरोले कतिबेला पुर्ने हो र ज्यान जाने हो भन्ने पनि थाहा हुँदैन । सडकको यस्तो अवस्थाका कारण यात्रुहरुलाई यो सडकमा यात्रा गर्न आगोमा हिडे भन्दा मुस्किल भैरहेको छ । याहाँ यात्रा गर्नुको पीडा शब्दमा वयान गर्न ग्राहो छ । अव यी दृश्यहरु हेर्नुहोस जस्ले यो पीडादायी अवस्थालाई दर्शाउँछ ।
जम्मा ३६ किलोमिटर लम्बाई रहेको यो सडक खण्डको स्तरउन्नतीको लागि तीन वटा कम्पनिलाई जिम्मा दिइएको छ ।

जसअन्तर्गत आँपटारीदेखि दासढुंगासम्म बिएलए एससिसी जेवी, दासढुंगादेखि सिमलतालसम्म उडहिल लामा जेवी र सिमलतालदेखि मुग्लिनसम्म सुप्रिम रौता जेवीले लिएको छ । सडक २ लेनको हुने सडकको निर्माण लागत २ अर्ब ९० करोड हो । ०३६ सालमा चीन सरकारको सहयोगमा गोरखा नारायणगढ सडकको नाममा निर्माण गरिएको यो सडकमा सन २०१४ र १५ को तथ्यांकअनुसार दैनिक ७ हजार ३ सय ३७ सवारीसाधन गुड्छन् ।

अहिले सडक साँघुरिए पनि सवारी साधनको चाप उच्च छ । अहिले दैनिक ८ हजारभन्दा बढी गाडी गुड्ने गरेका छन् । विकास समितिले दिएको निर्देशन भन्दै प्रशासनले दुवै तर्फ रात्रीकालीन यातायातहरुलाई रोकेपछि अहिले पीडा झन् बढेको छ । सुरक्षाका अन्य शर्तहरु पालना गर्ने हो भने दुर्घटना कम गराउन सकिन्छ तर ती उपायहरुका बारेमा केही नगरि विकास समितिले दिएको निर्देशनका कारण पीडा झ्न बढेको छ ।

नारायणगढ मुग्लिन सडक पुनर्निर्माणको काम पहिलो पटकको सम्झौताअनुसार २०१७ को अप्रिलमा सकिसक्नुपर्ने थियो । नाकाबन्दी भुकम्प जस्ता विभिन्न कारण देखाउँदै दोस्रो पटक सम्झौता गरियो । सम्झौताअनुसार २०१७ डिसेम्बर २१ मा काम सकिनुपर्नेछ । तर, अहिलेसम्मको कामको अवस्थाले समयमा काम पूरा हुने कुनै संभावना देखिँदैन । अहिलेसम्म मात्रै ५१ प्रतिशतको हाराहारीमा काम भएको छ ।
डरलाग्दो दुर्घटनाको तथ्यांक
यस सडक खण्डमा दैनिक जसो साना ठूला दुर्घटनाहरु भइरहेका छन् । सडकको अवस्थाको कारण पनि यस्तो भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेपत्ता भएकाहरुलाई पनि मृत्युको सूचीमा राखेको छ ।

त्रिशूली नदीको मुग्लिन नारायणगढ खण्डको यही सडकमा एक वर्षको अवधिमा ७५ जनाले मृत्युवरण गरेका छन् । यो सडकमा ५६ जनाले ज्यान गुमाएका छन् –भने १९ जना बेपत्ता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । यति छोटो सडकमा यत्रो दुर्घटना हुनु निकै दुःखद भएको प्रहरीको भनाई छ ।

बाटो फराकिलो बनाउने क्रममा पहाड थर्किएको र गत वर्षको भूकम्पले हल्लाएकाले समग्र सडक क्षेत्रको भूर्गभ नै हल्लिएका कारण पहिरोले घेरै दुर्घटना भएको र धेरैले ज्यान गुमाउन बाध्य हुन परेको प्रहरीको भनाई छ । दुर्घटनामा परेका अधिकांश सवारी त्रिशूली नदीमा खस्ने र चालक तथा यात्रुको मृत्यु तथा बेपत्ता हुने गरेका छन् । चालु आर्थिक वर्षमा सो खण्डमा ६४ वटा ठूला दुर्घटना भएका छन् । सोही दुर्घटनाका कारण २२० घाईते भएका छन् ।

नदीले एकै आर्थिक वर्षमा १९ जनालाई बेपत्ता बनाएको हो । विगतका वर्षमा यो तथ्याकं निकै कम देखिन्छ । कार्यालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७१ ÷ ७२ मा सात वटा दुर्घटनामा सात जनाको मृत्यु, ९ जना घाइते र तीनजना बेपत्ता भएका थिए ।
र, देशको एक मात्र राजमार्गको हविगतका कारण सडक यात्रुहरुले हैरानी खेपिरहेका छन् भने उनीहरुसँग पीडा र आक्रोश बढिरहेको छ ।

 

LIVE TV