२७ असार २०७४, मंगलवार

विष्णु ढुंगाना
काठमाडौं । भारतीय नाकाबन्दीको कारण पेट्रोलिय पदार्थ नपाएर देश नै संकटमा फसेका बेला चीन सरकारले दिएको पेट्रोलिय पदार्थ ल्याउन गएका ट्यांकरहरुले अझै भाडा पाएका छैनन् ।

नेपाल आयल निगमले भने नाकाबन्दीकै समयमा २०७२ साल असोजमा १३ लाख लिटर तेल बेचेर आम्दानी गरेको डेढ बर्ष वित्यो तर त्यही अनुदानमा आएको तेल ल्याउने ट्याक्करहरुले भने भाडा पाएका छैनन् । केरुङबाट चीनले दिएको १३ लाख लिटर तेल लिनको लागि आयल निगमले वाग्मती ढुवानीसँगबाट १ सय ३७ ओटा ट्याङकरहरु पठाएको थियो । त्यसबेलामा आएको तेलले आपूर्तिमा निक्कै ठूलो राहत दिएको भएपनि निगमले भाडा नदिएको भन्दै अहिले व्यवसायीहरु आक्रोशित भएका छन् । केरुङ नाकाबाट समान ल्याउन प्रति ट्रिप ९० हजारदेखि १ लाखसम्म पर्ने भएपनि निगमले १८ हजार ५ सय मात्रै भाडा उपलब्ध गराउँने निर्णय गरेको भन्दै व्यवसायीहरुले त्यसलाई अस्वीकार गरेका हुन् ।
अहिले काठमाडौ देखि रसुवागढी केरुङसम्म १७५ किलोमिटर छ । निक्कै जोखिमयुक्त बाटोबाट पेट्रोलिय पदार्थ ल्याउँदा पनि सरकारले उचित भाडा नदिएको व्यवसायीहरुको गुनासो छ । जोखिम मोलेर आफूहरुले तेल ल्याएको भएपनि सरकारले भने अहिले न्यून भाडा तोकेको भन्दै उनीहरु रुष्ट छन् ।

गल्छिदेखि केरुङ सम्म पुग्ने सबै बाटो १ लेनको छ । र १ लेनको बाटोमा यस्ता ठूला गाडीहरु चलाउन आफैँमा मुस्किल छ भने बाटो अवस्था पनि उत्तिकै नाजुक छ । यो बाटोमा पहिलो पटक यात्रा गर्ने जो कोहीको पनि आङ सिरिङ्ग हुने गर्दछ । भिरको बाटो त्यो पनि कच्ची सडक, बाटोमा गाडी चलाउँदा आफ्नो ज्यानै जोखिम मोल्दै पेट्रोलिय पदार्थ ल्याएको भएपनि अहिलेसम्म भाडा नदिएर सरकारले थप आहातमा पार्ने काम गरेको ट्यांकर व्यवसायीहरु बताउँछन् । आफ्नो ज्यानै जोखिममा राखेर देशमा चलिरहेको इन्धन संकट टार्नको बाटोको अवस्था नहेरी देशको आवश्यकतालाई ध्यानमा राखेर आफुहरुले काम गरेको तर, अहिले त्यसको सुनुवाई नभएको व्यवसायीहरुको भनाई छ । पटक पटक गरि १ सय ३७ ओटा ट्याकरहरुले तेल ल्याएका थिए । र, त्यसबेला चालकहरुले बाटोको अवस्थाबारे हामीसँग यस्तो प्रतिक्रिया दिएका थिए ।
तर, तेल ल्याएको डेढ बर्ष वित्यो तर उनीहरुले अझै भाडा पाएनन् । आयल निगमले उचित भाडा नदिएसम्म व्यवसायीहरुले नलिने अडान राखेका छन् । १ लाखसम्म भाडा पर्ने ठाउँमा सरकारले अहिले १८ हजार ५ सय मात्रै उपलब्ध गराउँदन चालक खर्च र तेल भाडा नै नउठ्ने भन्दै व्यवसायीहरुले उचित भाडा दिन पटक पटक आयल निगमको ध्यानाकर्षण गराइसकेका छन् ।

कति पर्छ केरुङ काठमाडौंको भाडा
छिमेकी देश चीन र नेपाल जोड्ने अहिलेको एक मात्र नाका केरुङदेखि काठमाडौंसम्मको भाडा एक लाख भन्दा बढी पर्छ । अहिले पनि चीनबाट फलफूलदेखि लत्ताकपडा र अनेकौ समाग्रीहरु आयात भइरहेको छ तर बाटोको अवस्थाको कारण करिव १ लाखको हाराहारीमा भाडा लिने गरेको नेपाल चाइना केरुङ बिजनेश एशोशिससनका अध्यक्ष मानबहादुर तामाङ बताउँछन् । जोखिमयुक्त बाटोको कारण पनि भाडा बढि हुने गरेको छ तर देशलाई नै संकटमा परेका बेला तेल ल्याएर सहयोग गर्ने व्यवसायीहरलाई भने आयल निगमले मारमा पारेको गुनासो व्यवसायीहरुको छ । र, उनीहरुले तत्काल आयल निगमले उचित भाडा दिनुपर्ने मागलाई अगाडि सारेका छन् ।

निगम किन आलटाल गदैछ ?
केरुङ नाकामा तेल लिन जाने बेलामा नेपाल आयल निगम र ट्याङ्कर व्यवसायीबीच हतार हतारमा मौखिक सहमती भएको थियो । निगमले उचित भाडा दिने बताएर ट्याकरहरुलाई तेल लिन केरुङ पठाएको हो । तर, त्यो मौखिक सहमतिको कार्यान्वयन निगमले गरेन । लागत भन्दा निक्कै न्यून भाडा दिएको कारण व्यवसायीहरुले भाडा लिन इन्कार गरिरहेका छन् । आयल निगमले भाडा दरमा आफुहरुले कुनै कन्जुस्याँइ नगरेको बताईरहेको छ । केरुङ सम्मको दुरी, लोड र बाटोको अवस्था आदि सबैलाई नियालेर हिसाब गर्दा भाडा दर यही हुन आएको र १८ हजार ५ सय भन्दा धेरै भाडा दिन आयल निगम असक्षम भएको निगमको भनाई छ । सरकारको कानुन अनुसार चल्नु पर्ने भएकाले ट्याङ्कर व्यवसायीहरुले राखेको माग सजिलै पुरा हुन नसक्ने बताउँदै निगमका प्रवक्ता पोखरेल भन्छन् ।

निर्वाचन आयोगले चीनले दिएको मत पेटिका ल्याउँदा ९० हजार भन्दा बढी रकम प्रति कन्टेनर भाडा दिएको थियो । कन्टेनरको हिसावमा ट्याङ्कारको भाडा त बराबर नहोला तर यसलाई आधार मानेर पनि भाडा भने निर्धारण गर्न सकिने अवस्था छ । त्यसकारण आयल निगमले किलोमिटरले भन्दा व्यवसायीहरुलाई मर्का नपर्ने गरि उचित भाडा दिन जरुरी छ ।

 

 

 

LIVE TV