२६ असार २०७४, सोमबार
  • दीपक भट्ट

रामेछाप । वर्षेनी लाखौं बजेट खर्चिएर पनि सडक व्यवस्थित हुन नसक्दा रामेछापको उत्तरी क्षेत्रका सर्वसाधारण ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । समयमै मर्मत सम्भार नहुनु र बर्षाको पानीले सडकमा खाल्डोखुल्डी परेका कारण सगरमाथाको बेसक्याम्प जाने पर्यटक र सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य बनेका हुन् ।

रामेछापको उत्तरी भेगका गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका एक दर्जन गाँउहरुमा अहिले बर्षाको भलका कारण सडकमा खाल्डो खुल्डी पर्ने र भत्काएर सडकमा अवरोध हुने जस्का कारणले ३ घण्टाको सडक पार गर्न दिनभर लाग्ने गरेको छ । विभिन्न काम लिएर हिडेका सर्वसाधारण समयमै गन्तव्यमा पुग्न नसक्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् ।

सडक निर्माण र मर्मतमा वर्षेनी बजेट विनियोजन भए पनि बजेटको सहि कार्यान्वयन र अनुगमन हुन नसक्दा सडकको निर्माणले गति नलिएको स्थानीयवासीको भनाई छ । सडक निर्माणको जिम्मा पाएको उपभोक्ता समितिले पनि चासो नदिएको र गरेको काममा पनि गुणस्तर नभएकै कारण सडकको अवस्था दुःखदायी रहेको छ ।

रामेछापको सदरमुकाम मन्थली हुँदै उत्तरी क्षेत्रका गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका एक दर्जन बढी वडामा वसोवास गर्ने सर्वसाधारण तथा सगरमाथाको बेसक्याम्प जाने यात्रुहरु पनि यही सडक भएर जाने भएर जाने हुँदा ठूलो संख्यामा यात्रुहरुले यो सडकको प्रयोग गर्ने गर्छन । यता निर्माण व्यवसायीले भने सकारले सडक निर्माणका लागि आवश्यक पर्ने ढुङ्गा, गिटीको दररेट न्यून कायम गर्दा सडको स्तरोन्नति हुन नसकेको भन्दै पन्छिन खोजेका छन् ।

सडक व्यवस्थित नहुँदा वर्षा लागेसँगै सो सडक भएर सगरमाथाका बेसक्याम्प साथै सोलुको सल्लेरी र फाप्लु जाने पर्यटकहरु पनि घटेको स्थानीयवासीको भनाई छ । सगरमाथाको बेसक्याम्प तथा सोलुखुम्बु जाने छोटो बाटोको रुपमा रामेछापको उत्तरी भेगको सडक प्रयोग हुदै आएको भए पनि सडक निर्माण र स्तरोन्नति नहुँदा सर्वसाधारण तथा पर्यटकले सास्ती बेहोर्दै आएका छन् । जस्को कारण पर्यटन व्यवसायीहरुको पेशा समेत संकटमा परेका छ । सडक अवरोधसंगै पर्यटकबाट असुल्दै आएको पर्यटन कर पनि घटेको छ ।

 

 

LIVE TV