२६ असार २०७४, सोमबार

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले साउनको पहिलो सातादेखि नै विकास बजेट खर्च गर्न सकिने बताउनुभएको छ । उनले बजेट खर्च गर्न सक्ने व्यवस्था मिलाई सकेको उल्लेख गर्दै आगामी आर्थिक बर्षमा विकास खर्च फ्रिज नहुने जिकिर गरे ।

सोमबार सांसदहरुले उठाएका प्रश्नहरुको संसदमा जवाफ दिँदै प्रधानमन्त्री देउवाले विकास बजेट नसकिएको गुनासाहरुलाई यो वर्ष अन्त्य गर्न सरकार लागि परेको बताउनुभयो । उहाँले विकास बजेट र अन्य बजेटहरुको भरपुर सदुपयोग गर्न सरकारले रणनीति बनाइरहेकोब बताउनुभयो । उनले निर्वाचन आचार संहिता लागु भएको विशिष्ट अवस्थामा बजेट ल्याउनुपर्दा पनि सरकारले स्थानीय तहमा बढी बजेट पठाउने, प्रशासनिक पुर्नसंरचना गर्ने, बाह्य लगानीलाई आकर्षित गर्ने तथा आर्थिक वृद्धिदरलाई सम्बोधन गर्ने जस्ता कामलाई प्राथमिकतामा राखेको बताए ।

बैठकमा सांसद प्रेम सुवालले उठाउनुभएको राष्ट्रपतिका लागि १६ करोडको सवारी साधन खरिद गर्ने विषयमा प्रधानमन्त्री देउवाले कुनै पनि प्रस्ताव सरकारसमक्ष नआएको प्रष्ट पार्नुभयो । उनले राष्ट्रपतिका लागि महंगो गाडी खरिद गर्ने विषय नआएको भएपनि राष्ट्रप्रमुखको गरिमा र सुरक्षाका लागि सुरक्षित र प्रविधियुक्त सवारी साधन हुनुपर्ने बताए ।

बैठकमा प्रधानमन्त्री देउवाले सरकारले कुनै पनि विवादास्पद निर्णय नगर्ने भन्दै सांसदहरुलाई ढुक्क हुन समेत आग्रह गरे ।

LIVE TV