२४ असार २०७४, शनिबार

इलाम । इलाम नगरपालिकाले नगर क्षेत्रका मजदुरको दुर्घटना बीमा गर्ने निर्णय गरेको छ ।इलाम नगरपालिका प्रमुख महेश बस्नेतले आज पदभारग्रहण गर्नुहुँदै निर्माण क्षेत्रमा कार्यरत मजदुरको दुर्घटना बीमा गर्ने निर्णय गर्नुभएको हो । नगर क्षेत्रमा कार्यरत मजदुरको बीमा गर्नु नगरपालिकाको पहिलो एजेन्डा भएको उनको भनाइ थियो ।

“निर्माण क्षेत्रमा काम गर्न जोखिम भएकाले बीमा गर्न लागिएको हो,”उनले भने । नगर प्रमुख बस्नेतले सुकुम्वासी र दलितको पहिचान गरेर आवासको व्यवस्था गरिने बताए । सुकुमवासी र दलितको तथ्याङ्क सङ्कलन गरिने छ । तथ्याङ्क सङ्कलनपछि कार्यविधि बनाएर आवास कार्यक्रम कार्यान्वयन गरिनेछ ।नगरपालिकाले प्रसूति महिला र बच्चालाई पोषणयुक्त खानेकुरासहित आवश्यक सामग्री वितरण गर्ने निर्णय गरेको छ । प्रसूति महिलालाई घीउ, दाल, चिनी तथा बच्चालाई पोषणयुक्त पीठो, सुत्केरी महिलालाई सुतिको साडी र बच्चालाई चाहिने कपडा वितरण गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई मुख्य निर्वाचन अधिकृत नवराज दाहालले पद तथा गोपनीयताको शपथ गराउनुभयो । शपथलगत्तै उहाँहरुले पदभारग्रहण गर्नुभएको थियो । पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रमुख आतिथ्यतामा शपथ तथा पदभारग्रहण कार्यक्रम गरिएको हो ।

LIVE TV