२३ असार २०७४, शुक्रबार

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले शुक्रबार औपचारिक रुपमा दल दर्ता गराएको छ । संविधान र निर्वाचनको विषयमा फरक धारणा राख्दै आएको राजपाले शुक्रवार भने संविधानको धारा २६९ अन्तर्गत रहेर नै निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो ।

 

६ वटा गठबन्धन मिलेर एक भएको राजपाले राजपा नाम गरेको पार्टीलाई एउटा अस्तित्व दिनका लागि दल दर्ता गराउन लामो समयदेखि बैठक गर्दै आएको थियो । तर, दल दर्ता गर्ने विषयमा टुंगोमा पुग्न नसकिरहेको समयमा शुक्रबार राजपाले एक्कासि दल दर्ता गराएको हो । साँझ ५ बजे निर्वाचन आयोग पुगेका राजपाका नेताहरुले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको उपस्थितिमा दल दर्ता गराएका हुन् । दल दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै पार्टी अध्यक्ष महन्त ठाकुरले संविधानको धारा २६९ अनुरुप दल दर्ता गराएको तर संविधान संशोधन नभएसम्म निर्वाचनमा भने कुनै पनि हालतमा सहभागी नहुने अडान भने यथावत रहेको बताए ।

राष्ट्रिय जनता पार्टी नेपालले लामो समयदेखि संविधानमा मधेशका मागहरु सम्बोधन नभएको भन्दै संविधानको कुनैपनि धारणा नमान्ने बताउँदै आएका थिए । सरकारले राजपालाई समेत निर्वाचनमा सहभागी गराउने भन्दै प्रदेश नं २को निर्वाचन असोज २ गतेका लागि सारेको छ ।

LIVE TV