२३ असार २०७४, शुक्रबार

काठमाण्डौ । एउटै रुखको काठले बनेको अद्धितीय कला अर्थात काष्ठमण्डप । विश्वलाई नै चकित पार्ने गरि काठमाण्डौको वसन्तपुरमा निर्मित यो धरोहर धराशायी भयो दुई बर्ष अघिको महाविनाशकारी भूकम्पले ।

पुर्खाले छोडेर गएको यो अमूल्य नासोको पुनर्निर्माणमा यतिखेर सर्वत्र चिन्ता जाहेर गर्न थालिएको छ । त्यस्तै र उस्तै त अब कहाँ सम्भव होला र ? तर त्यो कलालाई पुर्नजीवन दिने गरि पुनर्निर्माणका प्रयास सुरु भएका छन् । तर पुनर्निर्माणमा आलस्यता प्रकट गरिएको भन्दै स्थानीयवासी विरोधमा समेत उत्रन थालेका छन् । साढे चौध सय बर्ष अघिको त्यो जीवन्त कला अर्थात काष्ठमण्डप । नेपाल चिनाउने धरोहर मात्र नभई नेपालका लागि अमूल्य निधि र सम्पति समेत थियो । तर यही सम्पदाको पुनर्निर्माणमा बिलम्ब भएको भन्दै स्थानीयवासी आक्रोशित बन्न थालेका छन् ।

आक्रोश बढेर विवादको रुप लिदा काठमाडौं महानगरपालिकाले काष्ठमण्डप परिसरमा तालावन्दी गरिदिदा पुनर्निर्माण कार्य नै थप अन्यौलमा परेको छ । पुनर्निर्माणको क्रमलाई गति दिन पुनर्निर्माण प्राधिकरणले पनि सरोकारवाला पक्षहरु राखेर बारम्बार छलफल गरेको थियो । तर ती छलफल र वैठकहरुमा महानगरपालिकाका प्रतिनिधि सहभागी नभएपछि विवाद सल्टाउने प्रयास समेत असफल हुँदै आएको छ । पुनर्निर्माण प्राधिकरण, पुरातत्व बिभाग , काठमाडौँ महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माणका लागि चारपक्षीय सम्झौता गरेर स्थानीय समुदायलाई पुनर्निर्माणको जिम्मेवारी दिईएको थियो । तर महानगरको सहभागिता नभएपछि बैठकको निर्णयले औपचारिकता पाउन सकेन् ।

 

स्थानीय समुदायको सक्रियतामा गठित काष्ठमण्डप पुनर्निर्माण अभियानका अध्यक्ष बिरेन्द्र भक्त श्रेष्ठले काष्ठमण्डपको जग जोगाउन टेन्ट हाल्ने क्रममा स्थानीय बासिन्दसंग विवाद हुँदा यो अवस्था आएको बताउछन् । गत वर्ष बेलायतको दुराहम बिश्वविद्यालय र पुरातत्व बिभागले काष्ठमण्डपको जगको संयुक्त रूपमा उत्खनन गरेको थियो । त्यहि क्रममा खनेको जग माटोले पुरिएको हुँदा त्यहि जगलाई बर्खाको पानीले नाबिगारोस भनेर टेन्ट हाल्न लगाएको श्रेष्ठ बताउछन् ।

पुरातत्व बिभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार काष्ठमण्डपमा पुनः प्रयोग गर्न मिल्ने काठहरु जाँच गरेर प्रयोग गर्ने, जाँच गरेर भार थेग्न सक्ने काठहरु प्रयोग गरिने , बलियो प्रविधि तथा थुप्रै सुरक्षित तरिका अपनाएर कार्यलाई अगाडि बढाउनु पर्ने हँुदा सम्झौता अनुसार दुइ बर्षमा पुनर्निर्माण सकिने भनेतापनि केहि वर्ष थप समय लाग्ने बताए ।

ऐतिहासिक धरोहर एवं सम्पदाहरुलाई त्यही स्वरुप, शैली र छनक दिन सम्भव त छैन नै । तर त्यस्को प्रतिकृतिकोरुपमा भने उभ्याउन सकिन्छ नै । तर यस्तो धरोहरको पुनर्निर्माणको सत्कार्यमा विवादलाई भने टाढा राखेर सबै पक्षले फराकिलो मन बनाउन आवश्यक छ । जस्ले इतिहास लेखिदा पुर्खाको नासो मासेको आरोप वर्तमान पुस्ताको शीरमा नपरोस ।

LIVE TV