२३ असार २०७४, शुक्रबार

काठमाण्डौ । नेपाल र छिमेकी राष्ट्र चीनबीच औद्योगिक क्षेत्रको विकासका लागि सहकार्य गर्दै अघि बढ्ने विषयमा सहमति भएको छ । नेपाल–चीनबीच उद्योगको दर्ता, स्थापना, संचालन र त्यसका वैदेशिक लगानी भित्र्याउने र औद्योगिक क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

बिहीबार मन्त्रिपरिषदले चीनसँग उद्योग सञ्चालन गर्ने विषयमा हस्ताक्षर गर्न उद्योग मन्त्रालयका सचिव स्तरीय टोलीलाई अख्तियारी दिएपछि शुक्रबार उद्योग मन्त्रालयका निमित्त सचिव गोपीकृष्ण खनाल र चीनका उद्योग तथा वाणिज्य राज्य प्रशासनका उपमन्त्री मा झेन्ग्क्वीले हस्ताक्षर भएको हो । समझदारी पत्रमा दुवै देशबीच उद्योग दर्ता, स्थापना, संचालन र लगानीका लागि आवश्यक वातावरण बनाउने उल्लेख गरिएको छ । दुई देशमा उद्योग दर्ता, स्थापना, संचालन र त्यसका लागि आवश्यक वैदेशिक लगानी भित्रयाउने गरी ‘नेपाल–चीन औद्योगिक क्षेत्रमा सहकार्य’ गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिए ।

नेपाल–चीन औद्योगिक क्षेत्रमा सहकार्य गर्ने समझदारी भएसँगै दुवै मुलुकमा निर्वाधरुपमा उद्योग दर्ता, स्थापना र संचालन गर्ने वातावरण बनेको छ । लगानीका लागि पनि आवश्यक वातावरण बनाउन समझदारीले थप सहयोग पु¥याउने विश्वास पनि व्यक्त गरिएको छ ।

 

LIVE TV