२३ असार २०७४, शुक्रबार

काठमाण्डौ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको चिकित्सक टोली एक महिलाको पेटबाट ३५ किलोको ट्युमर निकाली उपचार गर्न सफल भएको छ । रामेछाप गोठगाउँकी ४२ वर्षीया दिलमाया सार्कीको पेटको बडेमानको ट्युमर शल्यक्रिया गरी चिकित्सकहरूले निकालेका हुन् ।

दुई साताअघि ट्युमर निकालेपछि दिलमाया स्वस्थ्य र तन्दुरुस्त हुँदै आएकाले उपचारमासंलग्न चिकित्सकको समूहले शल्यक्रियाबारे जानकारी दिएको हो । चिकित्सकहरूका अनुुसार कुनै जीवित महिलाको पेटबाट निकालिएको सम्भवतः संसारकै सबैभन्दा ठूलो ट्युमर हो ।

ट्युमरले थलिएकी दिलमाया असार २ गते शिक्षण अस्पताल महाराजगन्जको ओपिडीमा स्वास्थ्य परीक्षण गराउन आएको अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा आश्मा राणाले बताइन् । उनको परीक्षण गरेको छैटौं दिनमा शल्यक्रियाको तयारी गरिएको थियो । सिटी स्क्यान गर्दा पाठेघरको दायाँपट्टि ट्युमर पलाएर बढेको देखिएपछि शल्यक्रिया गरी झिक्नुपर्ने निष्कर्षमा चिकित्सक टोली पुगेको अस्पतालका जिआई सर्जन डा विकल्प घिमिरेले बताए ।

करिब ६ वर्षअघि आफूलाई पेटमा समस्या अनुभव भएपछि उपचारका लागि धेरै वटा अस्पताल धाएको दिलमायाले बताइन् । उनले भनिन्, ‘ग्यास्ट्रिक भएको भन्दै डाक्टरले औषधि दिए तर निको भएन ।’ सुरु सुरुमा ट्युमर बिस्तारै बढे पनि एक वर्षयता तीव्र गतिमा बढेको उनले बताइन् ।

ट्युमर ठूलो हुँदै गएपछि आफू थलिँदै गएको र अस्पताल आउनु केही दिनअघिसम्म पानीको लोटा समेत उठाउन नसक्ने अवस्थामा पुगेको दुखेसो उनले पोखिन् । शल्यक्रियापछि ट्युमर पलाउनु अघिकै अवस्थामा फर्केकी दिलमाया उपचारबाट आफूले दोस्रो जुनी पाएको बताउँछिन् ।

 स्वास्थ्य खवरपत्रिका

LIVE TV