भक्तपुर । अस्तव्यस्त बन्दै गएको अस्पतालको सेवा सुधार्न खोज्दा अस्पतालकै चिकित्सकदेखि कर्मचारी समेतले सरुवाको धम्की दिएको भक्तपुर जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट डा सुधा देवकोटाले बताएका छन् ।
डा हरि केसीको सरुवा भएपछि सो पदमा सरुवा भएर आएकी देवकोटाले अस्पतालको सेवा सुधार्दै २४ सै घन्टा सेवा दिने निर्णय गरेपछि सरुवाको धम्की आएको बताएको हो ।
अस्पतालको तलब खाएर निजी अस्पतालमा जाने र ११ बजे आएर २ बजेपछि क्लिनिक जाने यहाँका चिकित्सकलाई पूरै समय अस्पतालमा रहेर सेवा दिन आग्रह गर्दा डा सरिता श्रेष्ठ र डा जमुना किरण पौडेलले उल्टै कर्मचारीको हस्ताक्षर गराएर सरुवा गर्ने धम्की दिएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार आमा सुरक्षा कार्यक्रम अन्तर्गत २४ सै घन्टा प्रसूति सेवा दिनेगरी आएकी डा पौडेल भक्तपुर अस्पतालमा केही घन्टा मात्रै बसेर अन्य समय गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा नियम विपरीत गएर सेवा दिएपछि सुपरिटेन्डेन डा देवकोटाले २४ सै घन्टा सेवा दिन निर्देशन दिएको थियो ।
क्वार्टरको सुविधा लिएर अस्पतालकै सवारी साधनको समेत दुरुपयोग गरी अन्यत्र गएर सेवा दिएको पाइएपछि त्यसलाई रोक्न खोज्दा विवाद भएको प्रशासनको भनाइ छ ।