२३ असार २०७४, शुक्रबार

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा आगामी २५ गतेबाट रातको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको छ । नियमित जस्तो खस्ने पहिरोका कारण जनधनको क्षति भएको भन्दै प्रशासन कार्यालयले रातको समयमा सवारी संचालनमा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि संसदको विकास समितिले समेत स्थलगत अध्ययनपछि रातको समयमा सवारी सञ्चालनमा रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो । समितिको निर्देशन पछि जिल्ला प्रशासन कार्यालय चितवनले जोखिम न्युनिकरणको लागि भन्दै आगामी आइतबारबाट रातको समयमा सो सडक खण्डमा सवारी संचानमा रोक लगाउने भएको हो ।

जोखिम न्युनिकरणका लागि भन्दै आगामी आइतबारबाट साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताउनुभयो । उहाँले सो सडक खण्डमा रहेको ४ वटा घर लाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिने समेत जानकारी दिनुभयो ।

दिनमा भने निर्वाध रुपमा सवारी चल्ने छन् । मुग्लिनबाट नारायणगढतर्फ आउने सवारी साधनलाई साँझ ७ बजे र नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीलाई साँझ ६ बजे दासढुंगामा रोकिने छ । त्यस्तै मुग्लिनबाट ५ बजे र नारायणगढबाट ४ बजे सवारी खुल्ला गरिने छ ।

LIVE TV