२३ असार २०७४, शुक्रबार

 

दार्चुला । लगातार वर्षाका कारण महाकाली नदीमा पानीको बहाब एक्कासी बढेको छ । बिहीबार दिउँसोदेखि एक्कासि नदीमा पानीको सतह बढेपछि स्थानीय बासिन्दामा त्रास थपिएको छ ।

विसं २०७० असारको पहिलो साता आएको महाकालीको बाढीलाई झझल्को दिने गरी नदी किनारमा निर्माणाधीन तटबन्धको फाउन्डेसन भत्काउँदा बङ्गाबगड क्षेत्रका बासिन्दामा बाढी त्रास बढेको स्थानीय बासिन्दाले बताएका छन् । महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालेको पक्की तटबन्धको फाउन्डेशन वाल भत्काएर नदीले कटान सुरु गरेको छ ।

गत कात्तिकमा भारतपट्टी गएको सुख्खापहिरोको कारण नदीको बहाव नेपालतर्फ मोडिँदा तटबन्धको वाल धँसिएको स्थानीय प्रशासनले जनाएको छ । तटबन्धको फाउन्डेशन नदीको सतहभन्दा माथि रहेको हुनाले नदीले माटो बगाउँदा पक्की तटबन्धको वाल भत्केको प्राविधिकको भनाइ छ ।

त्यस क्षेत्रमा पक्की तटबन्धको १० मिटर लम्बाई, पाँच मिटर चौडाई र सात मिटर उचाई जमिनबाट छुट्टिन पुगेको छ ।

नदीले कटान सुरु गरेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निर्माण व्यवसायी र स्थानीय मिलेर जालीमा ढुङ्गा भरिरहेका छन् । नदीले थप कटान रोक्नका लागि डोजरको प्रयोग गरी ढुङ्गा राख्न सुरु गरिएको छ ।

LIVE TV