२२ असार २०७४, बिहीबार

नुवाकोट । वैदेशिक रोजगारलाई सुरक्षित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय, सूचना तथा परामर्श केन्द्रले १३ हजार पाँच सय ३१ जनालाई सुरक्षित वैदेशिक रोजगारको सूचना तथा परामर्श प्रदान गरेको छ।

जिल्ला समन्वय समितिको समन्वयमा स्थापित सुरक्षित वैदेशिक रोजगारी परियोजनाले वैदेशिक रोजगारीमा जाने महिला तथा पुरुषलाई परामर्श दिँदै आएको छ । वैदेशिक रोजगारमा थप नयाँ समस्या सिर्जना हुन थालेकाले रोजगारमा जानुअघि सावधानी अपनाउन सबैमा आग्रह गरिएको छ ।
वैदेशिक रोजगार परामर्श केन्द्रले यस वर्ष नौ हजार २२ पुरुष र चार हजार पाँच सय नौ महिलालाई सुरक्षित रोजगारसम्बन्धी परामर्श दिएको छ । अवैध महिला कामदार पठाउने जिल्लामध्ये नुवाकोट सातौँ स्थानमा पर्ने बताउँदै परियोजना संयोजक निरु सूचीकारले कामका लागि विदेश जाँदा पर्न सक्ने सम्भावित खतराको बारेमा पूर्व जानकारी दिनु आवश्यक भएको बताए ।

यहाँ आज आयोजित कार्यक्रममा परियोजनाका जिल्ला संयोजक कमल रोकायले वैदेशिक रोजगारीमा गएर विभिन्न खाले समस्या झेल्न बाध्य भएकाहरुको उद्धार तथा राहतका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताउँदेै सञ्चारकर्मीले लेखेका समाचारकै कारण धेरैको उद्धार गर्न सफल भएको धारणा राखे ।

जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले वैदेशिक रोजगारीका लागि पूर्व सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

LIVE TV