२२ असार २०७४, बिहीबार

काठमाण्डौ । सरकार विस्तारका लागि सत्तारुढ दलले आन्तरिक छलफल तिब्र पारेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले यसैसाता सरकार विस्तार गर्ने गरी आन्तरिक छलफललाई तिब्र पारेका हुन् ।

सत्तारुढ दल कांग्रेस र माओवादीको यसै साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । मन्त्रालय भागबण्डा टुंग्याउन कांग्रेस नेता विमलेन्द्र निधि, अर्थ मन्त्री ज्ञानेन्द्रवहादुर कार्की र माओवादीका तर्फबाट उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णवहादुर महरा र नेता बर्षमान पुनबीच विभिन्न मोडलमा छलफल भएको छ । संघीय समाजवादी फोरम सरकारमा आउँदा वा नआउँदाको अवस्थामा कसरी मन्त्रालयको भागबण्डा गर्ने भन्नेबारे पनि छलफल भएको बताइएको छ । दुई तिहाईको समर्थन पुग्ने अवस्था विद्यमान हुँदा र नहुँदा कसरी मिलाउने भन्नेबारे अर्को विकल्पमा पनि छलफल भएको थियो ।

कांग्रेस नेता निधिले भने दुई तिहाईको समर्थन जुटाउने गरीनै मन्त्रिपरिषद विस्तार हुने बताउनुभयो । आन्तरिक छलफलमा कांग्रेस र माओवादीबीच २० मन्त्रालय लिने सहमति भएको छ । जसमा कांग्रेसले १२ र माओवादीले ८ मन्त्रालय लिने भएका छन् । विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई ३, नेकपा सयुक्तलाई १ र अन्य साना दलका लागि २ मन्त्रालय छुट्टाईएको छ । संघीय समाजवादी फोरम सरकारमा आएमा उसलाई समेत तीन मन्त्रालय दिने कांग्रेस र माओवादीको तयारी छ ।

LIVE TV