२२ असार २०७४, बिहीबार

काठमाण्डौ । चट्याङको पूर्वजानकारीका लागि मुलुकका नौ स्थानमा पाँच करोड रुपैयाँ लगानीमा पूर्वसूचक उपकरण जडान गरिएको छ ।

बर्सेनि डेढ सयभन्दा बढीले चट्याङकै कारण ज्यान गुमाउनुपरेपछि सावधानीका लागि जल तथा मौसम विज्ञान विभागले काठमाडौं, पोखरा, तुम्लिङ्टार, विराटनगर, सिमरा, सुर्खेत, धनगढी, भैरहवा र नेपालगन्जमा पूर्वसूचक उपकरण जोडेको हो । विभागका महानिर्देशक ऋषिराम शर्माले उक्त उपकरण सञ्चालनमा ल्याउन प्राविधिक तालिम र जाँचको काम भइरहेको जानकारी गराउँदै चाँडै जनताले चट्याङको पूर्वसूचना पाउने विश्वास व्यक्त गर्नुभयो ।

यससँगै आधा घन्टाभित्र चट्याङको पूर्वसूचना मोबाइलमै दिइनेछ । चट्याङबाट बच्नका लागि देशव्यपी रूपमा उपकरण जडान गरिएको यो नै पहिलो भएको महानिर्देशक शर्माले बताउनुभयो । केही समयअघि चितवनमा जडान गरिएको उपकरण चट्याङकै कारण बिग्रिएको थियो ।

मुख्य–मुख्य नौ स्थानमा जडान गरिए पनि यी उपकरणले देशव्यापी रूपमा समेट्ने विभागको दाबी छ । बादललाई डोर्‍याउने हावाको अवस्था ध्यानमा राखी सम्बन्धित क्षेत्रमा पूर्वसूचना दिइने जानकारी उहाँले दिनुभयो । मनसुनको सुरुआतसँगै आकाश गर्जिएपछि चट्याङ पर्छ तर कहाँ पर्छ भन्ने कसैलाई थाहा हुँदैन । चट्याङसम्बन्धी पूर्वसूचना नपाउँदा तीन वर्षमा तीन सय ३६ जनाको मृत्यु भएको छ भने नौ सय २९ जना घाइते भएको गृह मन्त्रालयको तथ्यांक छ । ०७१ सालमा सबैभन्दा बढी एक सय १९ जनाको मृत्यु भएको थियो भने दुई सय ८६ जना घाइते भएका थिए । ०७२ सालमा ९७ को मृत्यु र दुई सय २९ जना घाइते भएका थिए । ०७३ मा एक सय चार जनाको मृत्यु र तीन सय ३३ घाइते भएको तथ्यांक छ ।

चट्याङ लागेर ज्यान गुमाउनेमा भित्री मधेसका बढी छन् भने पश्चिमाञ्चल क्षेत्र पनि अगाडि नै देखिएको छ । बर्सेनि सयौं चौपाया र करोडौंको भौतिक क्षतिसमेत हुने गरेको छ । पूर्वसूचक उपकरणले दिएको परिणामका आधारमा विभागले चट्याङसम्बन्धी नीतिसमेत बनाउने भएको छ । घर निर्माणमा चट्याङप्रतिरोधी मापदण्ड अनिवार्य गरे क्षति कम हुने भएकाले यस्तो नीति ल्याउनु आवशयक देखिएको विभागले जनाएको छ । बादल र हावाको अवस्था, त्यसमा असिना, हिउँ, पानी के छ र त्यो कहाँ पर्न सक्छ भन्ने उपकरणले निगरानी गर्छ ।

प्रत्येक घरले चट्याङप्रतिरोधी अर्थिङ राख्नुपर्ने, ठूलो पानी परे रूखमुनि ओत लाग्न नहनुजस्ता सामान्य जानकारी सबैले लिए चट्याङबाट हुने क्षति कम गर्न सकिने विभागका अधिकारी बताउँछन् । ०२५ साल पुस १ गतेदेखि विभागले मौसम पूर्वानुमानसम्बन्धी जानकारी दिन थालेको हो । उपकरणले हावाको बहावअनुसार चट्याङ कतातिर पर्न सक्छ भन्ने यो उपकरणले जानकारी दिन्छ । अहिले जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा ६ र ६ घन्टामा मौसमसम्बन्धी जानकारी समावेश गरिँदै आएको छ, यसैअनुसार मौसमबारे पूर्वानुमान गर्ने गरिन्छ । तर, यो उपकरण जडान गरेपछि प्राप्त जानकारीलाई आधा-आधा घन्टामा चट्याङसम्बन्धी समावेश गर्ने महानिर्देशक शर्माले जानकारी दिनुभयो । चट्याङ पर्दा ठूलो विद्युतीय चार्ज उत्पन्न हुने भएकाले यसबाट विद्युतीय ठूला टावर, विद्युतीय सामग्री सर्ट हुने, रूख, घर, पाइप वा कुनै व्यक्ति चट्याङको सिकार हुने विज्ञहरूको भनाइ छ । एउटा चट्याङमा सूर्यको सतहभन्दा पाँच गुणा बढीसम्म तापक्रम अर्थात् २७ हजार डिग्री सेन्टिग्रेडसम्म तापक्रम र बादलबाट जमिनतिर चार्ज बग्दा एक अर्ब भोल्टसम्मको विद्युत् प्रवाह हुन सक्ने वैज्ञानिक बताउँछन् । चट्याङको पूर्वजानकारी दिने यो उपकरण जर्मनबाट ल्याइएको हो । अन्नपूर्णपोष्ट बाट

LIVE TV